Logo

नयाँ नोट चाहियो ? कहाँबाट भइरहेछ वितरण ? हेर्नुहोस्



मीठो खाने, राम्रो लगाउने, आफन्त भेटघाट गर्ने र मनोरञ्जन गर्ने वर्ष दशैंमा नयाँ नोटको महत्व उत्तिकै छ । नेपाल राष्ट्र बैंकले दशैंलाई लक्षित गर्दै नयाँ नोट ल्याउने गरेको छ । यो वर्ष १० दिनका लागि दिइएको नोट सटही सुविधाका लागि करीब १६ अर्ब रुपैंयाँ आवश्यक पर्ने राष्ट्र बैंकको अनुमान छ । विभिन्न बैंकबाट सटही सुविधा उपलब्ध गराइएपनि सेवाग्राहीको चाप भने उस्तै छ ।
नेपाल राष्ट्र बैँकले यस वर्षको दशैँमा १५ अर्व भन्दा बढिको नयाँ नोट बाँड्दै छ । बैङ्कले यस बर्ष पाँच, दश, बिस, पचास र सय रुपैयाँको १५ अर्ब रुपैयाँभन्दा बढीको नयाँ नोट बजारमा पठाउने व्यवस्था मिलाएको हो ।

राष्ट्र बैंकले मुद्रा व्यवस्थापन विभाग थापाथलीका साथै तीन बाणिज्य बैंकको १६ शाखा कार्यालय मार्फत सर्वसाधारणलाई नयाँ नोट वितरण गरिरहेको छ । अघिल्लो बर्षमा थापाथलीबाट मात्र नयाँ नोट वितरण गर्दे आएको राष्ट्र बैंकले यस बर्ष कृषि विकास बैङ्कको पाँच शाखा, नेपाल बैङ्कको पाँच शाखा र राष्ट्रिय वाणिज्य बैङ्कको ६ शाखा कार्यालयबाट वितरण गरेको हो । यद्यपि सर्वसाधारण चाप बढेका कारण यत्ति धेरै केन्द्रमार्फत् वितरण गर्दा पनि पर्याप्त हुन सकेको छैन । सर्वसाधारण सहज रुपमा नोट सटही गर्न नपाएको गुनासो गर्दैछन् ।

यो वर्षको दसैं तिहारका लागि वितरण सुरु गरिएको पहिलो दिनमै राष्ट्र बैंकले करिब ७ अर्ब ५० करोड रुपैयाँ बराबरको नयाँ नोट वितरण गरेको थियो । बैंक तथा वित्तीय संस्था, सरकारी कार्यालय, नेपाली सेना, प्रहरी र सर्वसाधारण गरी उक्त रकम बराबरको नयाँ नोट वितरण गरिएको राष्ट्र बैंकले जनाएको छ । नोट सटही गर्न सर्वप्रथम टोकन लिनु पर्ने हुन्छ ।

राष्ट्र बैंकले हरेक दिन विहान १० बजे देखि दिउँसो २ बजेसम्म सर्वसाधारणलाई टोकन वितरण गर्दै आएको छ । सर्वसाधारणले नेपाल बैंकका काठमाडौं बैंकिङ कार्यालय न्युरोड, बालाजु, पाटन औद्योगिक क्षेत्र, कीर्तिपुर र भक्तपुरबाट पनि नयाँ नोट साट्न पाउँछन् । सटही सुविधालाई सहज बनाउन प्रत्येक दरका नोटको खुद्रा संख्या १ सयको प्याकेटका आधारमा मात्र सटही गरिनेछ । यसकारण सोहीबमोजिम नोट माग गरी सटही कार्यलाई सहयोग पु¥याउन सर्वसाधारणलाई राष्ट्र बैंकले आग्रह समेत गरेको छ । गत वर्ष १० अर्ब ३१ करोडका नयाँ नोट वितरण गरिएको थियो ।

गत वर्षहरुमा ७ दिन नयाँ नोट सटही सुविधा दिँदै आएको केन्द्रीय बैङ्कले यस वर्ष भने ३ दिन थप गरेर १० दिन वितरण गर्ने बताएको छ । यो वर्ष १० दिनमा करिब १६ अर्ब रुपैयाँ बराबरका नयाँ नोट वितरण हुने राष्ट्र बैंकको अनुमान छ ।



प्रतिक्रिया दिनुहोस्