Logo

राष्ट्रियता सुदृढीकरणका लागि एमालेको नेतृत्वको खाँचो छ : नेता खनाल



काठमाडौँ, ३१ भदौ । नेकपा (एमाले) का वरिष्ठ नेता झलनाथ खनालले मुलुकमा राष्ट्रियता सुदृढीकरणका लागि आफ्नो पार्टीको नेतृत्व आवश्यक रहेको बताउनुभएको छ ।

ताप्लेजुङ काठमाडौँ सम्पर्क मञ्चले दशैँ, दीपावली, नेपाल संवत, छठ पर्वको उपलक्ष्यमा आज आयोजित शुभकामना कार्यक्रममा उहाँले भन्नुभयो – “एमालेले अवलम्बन गरेको अन्तर्राष्ट्रिय सम्बन्धसम्बन्धी नीतिका आधारमा भारतसँग भएका असमान सन्धि खारेज गरी नयाँ सम्झौताका लागि पुनरावलोकन गर्न जोड दिइएको छ ।”

नेता खनालले दशैँ कुनै एक जाति विशेषको मात्र नभएर सम्पूर्ण नेपालीले मनाउने राष्ट्र पर्व भएको बताउँदै देशमा मनाइने विभिन्न संस्कृतिले मुलुकलाई एकताबद्ध गर्न ठूलो सहयोग पुगेको धारणा व्यक्त गर्नुभयो ।

पार्टीका सचिव योगेश भट्टराईले मुलुकमा कायम रहेको भौगोलिक विविधताले विभिन्न संस्कृति र परम्पराको विकास भएको उल्लेख गर्दै आर्थिक र सामाजिक हिसाबले मुलुकलाई सशक्तरुपमा अगाडि बढाउनुपर्नेमा जोड दिनुभयो ।

देशमा राजनीतिक क्रान्ति पूरा भएको छ, उहाँले भन्नुभयो, “क्रान्तिपछि मुलुकको पुनःनिर्माण तथा समृद्धि र विकास नयाँ पुस्ताले गर्छ, अब एक शताब्दीसम्मका लागि संघीय समाजवादी व्यवस्थाको अभ्यासलाई सफल बनाउनुपर्छ ।”

मञ्चका अध्यक्ष सन्तोष मादेनले मुलुकमा भएका स्रोतसाधनलाई उचित व्यवस्थापन गरी देश र जनतालाई समुन्नत बनाउन एमालेको नेतृत्वको खाँचो औँल्याउनुभयो । रासस



प्रतिक्रिया दिनुहोस्