Logo

नवलपरासीको फलामखानीको उत्खनन् यसै वर्ष सकिने



असोज १, काठमाण्डौ । २ वर्षअघि नवलपरासीको धौवादीको १० किलोमिटर क्षेत्रमा फलाम खानी फेला परेको थियो । धौवादीमा फेला परेको फलाम खानीको उत्खननका लागि भूगर्भ विभागले सम्भाव्यता अध्ययन यसै वर्ष सकिने भएको छ । गत वर्ष पहिलो चरणमा ड्रिलिङको काम सकिएपछि दोस्रो चरणमा थप ड्रिलिङसँगै जिओलोजिकल सर्भेको कमा थाल्न लागिएको खानी तथा भूगर्भ विभागले जनाएको छ ।
वि.सं. ०६८ सालमा खानी तथा भूगर्भ विभागको टोली कोइलाखानी अध्ययन गर्न आउँदा त्यहाँ फलाम खानी पत्ता लगाएको थियो । त्यसको चार वर्षपछि मात्रै सरकारले यसको औपचारिक अध्ययन अघि बढाएको थियो ।
सर्भेपछि खानीबाट कति परिमाणमा फलाम उत्खनन गर्न सकिन्छ भन्ने लगभग यकीन हुनेछ ।
गत वर्ष विभागको विशेषज्ञ र प्राविधिकसहितको टोली धौवादीमा ड्रिलिङ गरेर फलामको उत्खननको सम्भाव्यता र त्यसको परिमाण एकीन गर्ने काम अघि बढाएको थियो । गत वर्ष दुई स्थानमा गरिएको ड्रिलिङमा ७५ मिटर गहिरो भागसम्म फलामको कच्चापदार्थ भेटिएको थियो । यो वर्ष इलेक्ट्रिकल सिग्नेचरमार्फत यसको जिओलोजिक सर्भे पनि गरिने छ ।
पहिलो चरणमा गरिएको अध्ययनमा त्यहाँ दुई करोड टनको फलाम खानी रहेको अनुमान गरिएको छ । नवलपरासीको पूर्वमा धौवादी र पश्चिममा देउराली गाविसको नाम्जाकोट हुँदै दक्षिणमा रुम्से र उत्तरमा नरमको ल्हापेसम्म फलाम खानी भेटिएको छ ।
प्रारम्भिक अध्ययन अध्ययनमा त्यहाँको ढुंगामा ५८ प्रतिशतसम्म फलाम निकाल्ने तत्व भेटिएको थियो । फलाम खानीका लागि ६० प्रतिशत हेमटाइडवेर उत्तम र ३० देखि ६० प्रतिशत मुनि मध्यमखालको मानिन्छ । धौवादीको खानीमा च्यानल ग्याप कम रहेको भित्रैसम्म भित्रैसम्म फलाम भेटिएको पुष्टि भइसकेको छ ।

यो वर्ष अध्ययन सकिँदासम्म त्यहाँबाट कति वर्षसम्म कुन परिमाणमा फलाम उत्खनन हुनसक्छ भन्ने पत्ता लाग्ने विभागले जनाएको छ । पहिलोपटक धौवादी तीनपोखरीको क्षेत्रलाई केन्द्रविन्दु बनाएर अध्ययन गरिएको थियो । उक्त क्षेत्र पूर्व–पश्चिम राजमार्गको कावासोती नगरपालिका–१६, डण्डा र मध्यविन्दु नगरपालिका चोरमाराबाट १३ किलोमिटर उत्तरतर्फ पर्छ । यो खानीको ६ वटा ब्लकमा २ सयवटा सेक्सन विभाजन गरेर अध्ययन भएको छ ।
यो खानी क्षेत्रमा परापूर्वकालमा परम्परागत शैलीमा फलाम खानीको उत्खनन गरेका ३ वटा सुरुङ समेत भेटिएका छन् । स्थानीयले खानी उत्खनन तत्काल थाल्न माग गर्दै आएका छन् ।



प्रतिक्रिया दिनुहोस्