Logo

डा सिम्खडाद्वारा क्याम्पसलाई आर्थिक सहयोग



काठमाडौँ, २ असोज । पूर्व राजदूत तथा समाजसेवी डा शम्भुराम सिम्खडाले विश्वशान्ति चिरन मिलन क्याम्पसबाट सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई पुरस्कृत गर्ने घोषणा गर्नुभएको छ ।

विश्वशान्ति चिरन मिलन क्याम्पसद्वारा आज यहाँ आयोजित आसन्न दशैँ, तिहार तथा छठको पूर्वसन्ध्यामा शुभकामना आदनप्रदान तथा सांस्कृतिक कार्यक्रममा डा सिम्खडाले आफ्नो व्यक्तिगततर्फबाट हरेक वर्ष विश्वशान्ति चिरन मिलन क्याम्पसमा सर्वाेत्कृष्ट अंक प्राप्त गर्ने विद्यार्थीलाई रु १५ हजार र गरिब तथा जेहेन्दार विद्यार्थीमध्येबाट एकजनालाई अध्ययन खर्चस्वरुप रु १२ हजार सहयोग गर्ने जानकारी दिनुभयो ।

काठमाडौँ महानगरपालिका–३ का अध्यक्ष दीपक केसीले शिक्षा क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्न आफू तयार रहेको बनाउनुभयो ।

क्याम्पसका प्राचार्य सुशीलचन्द्र वाग्लेले क्याम्पसको शैक्षिक गुणस्तर स्तरीय भए पनि भौतिक तथा आर्थिक अवस्था दयनीय भएकाले सहयोग गर्न आग्रह गर्नुभयो ।

क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष प्राडा मोहनप्रसाद लोहनीले गुणस्तरीय शिक्षा प्रदान गर्ने पहिचान बनाएको यस क्याम्पसलाई आर्थिक तथा भौतिक सहयोग गर्न सबैसँग अनुरोध गर्नुभयो ।

समाजसेवी एवं शिक्षाप्रेमी डा सिम्खडाले विदेशमा अध्ययनरत रहँदैको अवस्थामा सडक दुर्घटनामा परी मृत्यु भएका आफ्ना छोराहरू चिरन र मिलनको स्मृतिमा सो क्याम्पसको नामाकरण गरी यसअघि रु ५० लाख क्याम्पसलाई सहयोग गरेको जानकारी गराइयो । (रासस)



प्रतिक्रिया दिनुहोस्