Logo

बाँदरझुला वस्ती स्थानान्तरण गर्नुपर्छ : मन्त्री पाण्डे



चितवन, ४ असोज  । वन तथा भू–संरक्षण मन्त्री विक्रम पाण्डेले चितवन राष्ट्रिय निकुञ्ज अतिक्रमण गरी बसेको बाँदरझुला बस्तीलाई तत्काल स्थानान्तरण गर्नुपर्ने बताउनुभएको छ ।

चितवन राष्ट्रिय निकुञ्जको ४५ आँैं वार्षिकोत्सव तथा कार्यालय भवन उद्घाटन कार्यक्रमलाई आज निकुञ्जको मुख्यालय कसरामा सम्बोधन गर्दै मन्त्री पाण्डेले वन्यजन्तु र मानवबीचको द्वन्द्व धेरै भएकाले उक्त बस्ती तत्काल हटाउनुपर्नेमा जोड दिनुभयो ।

यसअघि आफू भूमिसुधार मन्त्री हुँदा बस्ती स्थानान्तरणको प्रक्रिया अगाडि बढाएको भन्दै उहाँले त्यहाँका बासिन्दालाई उचित स्थानमा स्थानान्तरण गर्नुपर्ने बताउनुभयो ।

बाँदरझुलामा निकुञ्जको ५३९ हेक्टर जमिन अतिक्रमण गरी ५५० घरधुरी बसोवास गर्दैआएका छन् । उहाँले निकुञ्ज हुँदै माडी जाने बाटोलाई सहज बनाउन पनि निर्देशन दिनुभयो ।

बाटो किनारामा रहेका रुख कटान गर्न निकुञ्जले स्वीकृति नदिएको भन्दै उहाँले रुख कटानको प्रक्रिया छिट्टै अगाडि बढाउन पनि निर्देशन दिनुभयो । निकुञ्ज यस भेगका जनताको ठूलो सम्पत्ति भएको बताउँदै मन्त्री पाण्डेले यसको संरक्षण र प्रवद्र्धनमा सबै लाग्नुपर्ने बताउनुभयो ।

सोही अवसरमा निकुञ्जको नवनिर्मित कार्यालय भवनको मन्त्री पाण्डेले उद्घाटन गर्नुभयो । आर्थिक वर्ष २०७१÷७२ बाट निर्माण शुरु गरिएको भवन रु तीन करोड ३५ हजार १४९ लागतमा निर्माण गरिएको हो । निकुञ्जको कार्यालय यसअघि सन् १९३९ सालमा निर्मित उपत्यका बाहिरको पहिलो आरसिसी भवनमा बस्दै आएको थियो ।

सो अवसरमा संरक्षणमा योगदान पु¥याएबापत विभिन्न व्यक्तिलाई सम्मान गरिएको थियो । कार्यक्रममा यसवर्षको ‘कञ्जरभेसन लाइफटाइम अचिभमेन्ट’बाट संरक्षणकर्मी केशव देवकोटालाई सम्मान गरिएको छ । मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका संस्थापक अध्यक्ष समेत रहनुभएका देवकोटालाई उक्त सम्मान प्रदान गरिएको हो ।

सोही अवसरमा संरक्षणको क्षेत्रमा योगदान पु¥याएका सञ्चारकर्मी, निकुञ्जका कर्मचारी, सुरक्षाकर्मी, सामाजिक संघ संस्थालगायतलाई पनि सम्मानित गएको थियो ।

सोही अवसरमा दि हिमालयन टाइम्सका तिलकराम रिमाल, कान्तिपुर दैनिकका शिव पुरी, आभाष टेलिभिजनका कमलचन्द्र भगत, एपी १ टिभीका अनिल ढकाल र सौराहा अनलाइनका राजेन्द्र आचार्यलाई पनि सम्मान गरिएको थियो ।

कार्यक्रममा वन्यजन्तु संरक्षण विभागका महानिर्देशन मनबहादुर खड्काले विकास र संरक्षण सँगसँगै गर्नुपर्दा अप्ठ्यारो परेको भन्दै विकास निर्माण गर्दा संरक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । नेपालको कूल भू–भागको २३.२९ प्रतिशत भू–भाग संरक्षित क्षेत्र भएको बताउँदै उहाँले नेपाल आउने पर्यटकमध्ये ६० प्रतिशत यसै संरक्षित क्षेत्रमा जाने गरेको जानकारी दिनुभयो ।

कार्यक्रममा निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलले गत साउन अन्तिम साता आएको बाढीका कारण ठूलो संख्यामा वन्यजन्तु मरेको र घाँस मैदानसमेत बिग्रिएकाले वन्यजन्तुको अवस्था दयनीय बन्दै गएको बताउनुभयो । उहाँले तत्काल घाँसेमैदान व्यवस्थापन गर्न नसके वन्यजन्तु खतरामा पर्ने बताउँदै सबै क्षेत्रबाट संरक्षणमा सहयोग गर्न आह्वान गर्नुभयो ।

कार्यक्रममा क्षेत्रीय वन निर्देशक शिवकुमार वाग्ले, राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्यसचिव गोविन्द गजुरेल, मध्यवर्ती क्षेत्र व्यवस्थापन समितिका अध्यक्ष मधुकर मल्ल, चितवनका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्मालगायतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । (रासस)



प्रतिक्रिया दिनुहोस्