Logo

प्रचण्डले सिराहा छोडेपछि अजयशंकर नायक अघि सरे



असोज ५, काठमाण्डौ । नेकपा माओवादी केन्द्रका नेता अजयशंकर नायकले प्रदेश नम्बर २ को चुनावका लागि टिकट वितरणको टुङ्गो लगाउन ढिला भएकाले नतिजा कमजोर आउन लागेको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता नायकले २ महिना अगाडि नै उम्मेदवार तय गर्नुपर्नेमा ढिला भएको बताए ।
चाँडै उम्मेदवारको टुङ्गो लगाइदिएको भए २ नम्बर प्रदेशमा माओवादी पहिलो ठूलो दल बन्ने उनले अनुमान गरे ।
मनोनयनको एक दिन अगाडि मात्रै उम्मेदवारको टुङ्गो लगाउनु गल्ती भएको नायकले बताए ।
प्रदेश नम्बर २ को चुनावको प्रारम्भिक नतिजाले सबै दललाई मिलेर अघि बढ्ने सन्देश दिएको नायकको तर्क छ । मधेशी जनताले विकास चाहेको बताउँदै नायकले भने, “जनताको अहिलेको चाहना विकास र समृद्धि हो । गरिबीको जटिल समस्यालाई सबै मिलेर समाधान गर्नुपर्छ भन्ने मत जनताले जाहेर गरेका छन् ।”
कार्यक्रम कुरा गर्ने क्रममा नेता नायकले पार्टी अध्यक्ष पुष्पकमल दाहाल आगामी चुनावमा चितवन जिल्लाको क्षेत्र नम्बर ३ बाट चुनाव लड्ने सहमति भएको जानकारी दिए । यसअघि दाहालले चुनाव लडेको सिराहा आफु उम्मेदवार बन्नेसमेत नायकले बताए ।



प्रतिक्रिया दिनुहोस्