Logo

पत्रकारिताको गुणात्मक विकास आवश्यकः राष्ट्रपति



काठमाडौँ, ६ असोज ।  राष्ट्रपति विद्यादेवी भण्डारीले लोकतान्त्रिक व्यवस्थापछि पत्रकारिता क्षेत्रमा संख्यात्मकसँगै गुणात्मक विकास आवश्यक पर्ने बताउनुभएको छ ।

उहाँले अब हुने प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदै गणतन्त्रलाई सुदृढ र राष्ट्रियतालाई एकताबद्ध बनाउने सकारात्मक वातावरण खेल्न पनि सञ्चार क्षेत्रलाई आह्वान गर्नुभयो ।

प्रेस काउन्सिल नेपालको ४८औँ वार्षिकोत्सवका अवसरमा आज राष्ट्रपति भवनमा आयोजित पुरस्कार वितरण समारोहमा उहाँले नेपाली प्रेसले पाएको अधिकार र उपलब्धिलाई सकारात्मक रुपमा सदुपयोग गरिनुपर्नेमा पनि जोड दिनुभयो ।

सामाजिक सञ्जाल र कतिपय सञ्चारमाध्यम जिम्मेवार नभएको सन्दर्भ उल्लेख गर्दै राष्ट्रपति भण्डारीले भन्नुभयो, “अधिकारको दुरुपयोग गर्दा नकारात्मक परिणाम आउँछ, समाजमा स्वच्छन्दता र अराजकता उत्पन्न हुन्छ ।”

राष्ट्रपति भण्डारीले छिटो समाचार दिने नाममा वास्तविकता भुलेर सामग्री प्रस्तुत भएमा पत्रकारिताको विश्वसनीयता, सत्य, तथ्य र सन्तुलन गुम्ने जनाउँदै राज्यका तीन अङ्गलाई निगरानी र सन्तुलनमा राख्ने प्रेसको जिम्मेवारी र उत्तरदायित्वलाई सामाजिक न्यायपूर्ण समाज स्थापनाको लक्ष्यका साथ पूरा गरिनुपर्ने बताउनुभयो ।

काउन्सिलका कार्यवाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकार अराजक भएमा पेशा नै बदनाम हुने भएकाले प्रेस पास र अभिव्यक्ति स्वतन्त्रताको दुरुपयोग हुन नहुनेमा जोड दिनुभयो ।

नेपाल पत्रकार महासङ्घका अध्यक्ष गोविन्द आचार्यले पत्रकारिताले स्वनियमनमा रहनुपर्ने भन्दै पत्रकार आचारसंहिताबारे जागरण अभियान सञ्चालन गरिने बताउनुभयो ।

पुरस्कार प्रदान 

समारोहमा काउन्सिलका विभिन्न वार्षिकमध्ये ‘प्रेस काउन्सिल गोपालदास पत्रकारिता पुरस्कार’ पत्रकार बालकृष्ण चापागाईं र ‘प्रेस काउन्सिल सुरेन्द्रबहादुर बस्नेत पत्रकारिता पुरस्कार’ पत्रकार धर्मेन्द्र झालाई प्रदान गरियो ।

दुवै पुरस्कारको राशि जनही रु एक लाख पाँच हजार छ । २५ हजार राशिको ‘प्रेस काउन्सिल आचारसंहिता पुरस्कार’ सप्तकोशी एफएम रेडियो सुनसरीलाई दिइयो ।

यस्तै ‘प्रेस काउन्सिल साहित्यिक पत्रकारिता पुरस्कार’ पत्रकारद्वय हरिहर खनाल ९चितवन० र वियोगी बुढाथोकी ९काठमाडौँ०लाई प्रदान गरिनेछ ।

काउन्सिलले यस वर्षको प्रेस काउन्सिल स्तम्भ लेखन पत्रकारिता पुरस्कार’ पत्रकार मुरलीप्रसाद यादव ९सप्तरी०लाई प्रदान भयो ।
‘प्रेस काउन्सिल भाषागत पत्रकारिता पुरस्कार’ पत्रकार विणा सिन्हा काठमाडौँलाई प्रदान गरियो ।

प्रेस काउन्सिल महिला सशक्तीकरण पत्रकारिता पुरस्कार’ पत्रकार इन्दिरा अर्याल बुटवल, कमल पन्थी काठमाडौँ, टीका विष्ट सुर्खेत, कोपिला कँडेल बाग्लुङ र अञ्जली थापा मकवानपुरलाई प्रदान गरियो ।

‘प्रेस काउन्सिल सशक्त सञ्चारकर्मी पत्रकारिता पुरस्कार’ पत्रकार ओमप्रसाद घायल पर्वत, रामकुमारी रूबी श्रेष्ठ ललितपुर, राधेश्याम पट्टेल पर्सा, रामचन्द्र चौधरी कञ्चनपुर र नमनकुमार शाही दैलेखलाई प्रदान गरियो ।

त्यसैगरी ‘प्रेस काउन्सिल समावेशी पत्रकारिता पुरस्कार’ दण्ड गुरुङ काठमाडौँ, मानसिंह विक रोल्पा, रविन थपलिया काठमाडौँ, अनिलकुमार कर्ण काठमाडौँ, मदन ठाकुर रौतहट, सन्तोष रुचाल धनकुटा, महेशकुमार चौधरी सुनसरी र विजेता चौधरी काठमाडौँले पाउनुभयो ।

‘प्रेस काउन्सिल युवा सशक्तीकरण पत्रकारिता पुरस्कार’ विभिन्न जिल्लाबाट छ, ‘प्रेस काउन्सिल सशक्त लेखन पत्रकारिता पुरस्कार’ पाँच र ‘प्रेस काउन्सिल क्रियाशील पत्रकारिता पुरस्कार’ तीनजना पत्रकारलाई प्रदान गरियो । पुरस्कारको राशि जनही रु १० हजार छ । काउन्सिलका पूर्वअध्यक्षहरुको सम्मान र दीर्घसेवी तथा उत्कृष्ट कर्मचारीलाई पनि पुरस्कृत गरियो ।



प्रतिक्रिया दिनुहोस्