Logo

दशैँमा करिब ५० हजार खसीबोका खपत हुने अनुमान, मूल्य यस्तो छ



असोज ६, काठमाण्डौ । दशैं नेपालीहरुको महान चाड बडादशैका अवसरमा अधिकाश मानिसहरुले मासुजन्य परिकारको सेवन गर्ने गर्दछन् । अन्य समयमाभन्दा दशैँका बेला मासुजन्य परिकार धेरै खाने भएकाले खासी, बोका, च्याङ्ग्रा लगायतका मासुजन्य चौपायाको खरिदविक्री बढि हुने गरेको छ । यसपालिको दसैंमा उपत्यकामा ४० देखि ५० हजारको संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ ।

हिन्दुहरुको लागि दशैंको धेरै महत्व छ । सबै परिवार जमघट हुने, राम्रो लाउने र मिठो खाने साथै खुसी साटासाट गर्ने पर्वका रुपमा दशैंलाई लिइन्छ । साथै दशैंमा सबै भन्दा बढि मासुकै परिकार खाने भएकाले यसको कारोबार पनि बढि हुने गरेको छ । यसपालिको दसैंमा उपत्यकामा ४० देखि ५० हजारको संख्यामा खसीबोका खपत हुने अनुमान गरिएको छ । स्वदेशी उत्पादनले माग धान्न नसक्दा ८० प्रतिशत खसीबोका भारतका विभिन्न ठाउँबाट व्यवसायीले आयात गर्ने गरेका छन् । स्वदेशका विभिन्न जिल्लाबाट व्यवसायीले उपत्यकामा खसीबोका भित्र्याउने गर्छन् ।

दसैँका बेला उपत्यकामा बढी मात्रामा खसीबोका खपत हुने हुँदा निजी व्यवसायीले कालाबजारी, कृत्रिम अभाव गर्न सक्ने भन्दै प्रत्येक वर्ष नेपाल खाद्य संस्थानले खसीबोका खरिद गरी विक्रि वितरण गर्छ । तर संस्थानले विक्रि गर्ने खसी, बोका तथा च्याङ्ग्रा औपचारिकता मात्रै हो । किनकी संस्थानले बेच्ने चौपायाभन्दा धेरै गुणा बढि बजारमा माग हुने गरेको छ । करिब ५० हजार चौपाया खपत हुने उपत्यकामा संस्थानले भने १ हजार ५ सय खसीबोका र १ हजार च्याङ्ग्रा मात्रै बिक्रि गर्ने योजना बनाएको छ ।
बाढीपहिरोले बाटो अवरोध हुँदा उपत्यकामा खसीबोका ल्याउन समस्या हुँदा सामान्य मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ ।सामान्य दिनमा उपत्यकामा दैनिक ८ सयदेखि १ हजार गोटासम्म खसीबोका भित्रिने गरेकोमा घटस्थापनाको दिनदेखि ठूलो मात्रामा खसीबोका भित्रिने गर्छन् । दशैंमा बिरामी तथा रोगी खसिबोका पनि व्याबसायीले हुलमुलमा बिक्रि गर्ने गरेका छन् ।

तर संस्थानमा आएका खसीबोकामा कुनै पनि समस्या नआएको संस्थानका प्रवक्ता शंकर सापकोटाको दाबी छ ।
दसैंमा खसीबोकाको खपत धेरै हुने र सोही अनुसार ल्याउन नसक्दा मूल्य बढ्ने देखिएको व्यवसायीको भनाई छ । यसपाली भने खाद्य संस्थानले मुल्यमा केही बृद्धि गरेको छ । संस्थानले जिउँदो च्याङ्ग्रामा पोहोर ६५० प्रतिकिलो निर्धारण गरिएको थियो भने यसपाली ६७५ निर्धारण गरिएको छ । यस्तै खसीको मुल्य ४५५ र बोका ४५० रुपैंया प्रतिकिलो कायम गरिएको छ ।

गत वर्ष दसैंमा ४८ हजार खसीबोका खपत भएको थियो । स्थानीय उत्पादनले माग धान्न नसक्दा दसैंमा खसीबोकाका लागि बर्षेनि ८ अर्ब रुपैयाँ बाहिरिने गरेको छ ।



प्रतिक्रिया दिनुहोस्