Logo

६ जना उपप्रधानमन्त्री र ५६ जनाको मन्त्रीमण्डल बनाउने प्रवृत्तिले देशको विकास हुन सक्दैन



नेपाली कांग्रेसका नेता डा. रामशरण महत पूर्व अर्थमन्त्री मात्र होइनन्, अर्थशास्त्रका ज्ञाता पनि हुन् । कांग्रेसभित्रका धेरै नेताहरुमध्येका एक प्रभावशाली नेतासमेत हुन महत । उनै महतसँग ऋषि धमलाले संविधान निर्माणपछिको विकास, बुढिगण्डकी जलविद्युत आयोजनाको विवाद र प्रदेश नम्बर २ को चुनावी नतिजामा केन्द्रित रहेर कुरा गरेका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको अन्तरवार्ताको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल विकासको युगमा प्रवेश ग¥यो भन्नुभयो । नेपाल वास्तवमा नै विकासको गतिमा अगाडि बढेको हो ?
उहाँले कुनै सन्दर्भमा भन्नुभएको होला । नेपालमा जनु ढंगले विकासका काम भइरहेको छ, यसलाई वास्तवमा नै विकासको एजेण्डा बनाएको मान्न सकिदैन । हल्काफुल्का टिप्पणी र भाषणले मात्रै विकास हुँदैन । काम गर्ने संस्कृतिको विकास हुन सकेको छैन । नेपालमा राजनीतिक अस्थिरताका कारण सरकार र कार्यालयका कर्मचारी छिटोछिटो परिवर्तन भएकाले विकास हुन सकेको छैन ।

तपाई आफै पनि पटकपटक मन्त्री भइसक्नुभएको छ । मन्त्रीहरु किन कर्मचारी सरुवामा केन्द्रित हुन्छन् ?
सबैभन्दा दुर्भाग्य नै मन्त्रीको मनपरी कर्मचारी सरुवा गर्ने प्रवृत्ति हो । कर्मचारी सरुवा र नियुक्तिमा राजनीतिकरण गर्ने प्रवृत्तिले विकासका काम प्रभावित हुने गरेको छ । काम गर्न सक्ने सक्षम व्यक्तिभन्दा पनि नजिकको आफन्त र स्वार्थ पूरा हुने अवस्थामा मन्त्रीले काम गर्ने गरेका छन् ।

नेपालका प्रधानमन्त्री तथा सरकारले गर्ने कामलाई कसरी लिनुहुन्छ ?
सरकारको नेतृत्व गर्ने प्रधानमन्त्रीहरु कसैले ६ जना उपप्रधानमन्त्री बनाउँछन्, कोही ५६ जनाको मन्त्रीमण्डल बनाउँछन् । यसप्रकारका कामले विकास हुन सक्दैन । सस्ता र अल्पकालिक निर्णयले कुनै उपलब्धि हुँदैन ।

बुढिगण्डकी जलविद्युत आयोजनाको जिम्मा दिइएको विषय विवादमा छ । यसलाई कसरी लिनुहुन्छ ?
गलत निर्णय भयो । यसअघि अरबभन्दा बढि पैसा खर्च गरेर फ्रेन्च कम्पनीलाई डिपिआर गर्न दिइयो । आयोजना निर्माणका लागि आन्तरिक स्रोतको नाममा इन्धन विक्रिबाट पैसा उठाइयो । क्षतिपूर्तिका लागि पैसा दिने काम पनि सुरु भएको छ । अन्तराष्ट्रिय बोलकबोल गरेर प्रतिस्पर्धा गराएर कन्ट्रयाक्टर छान्नुपर्ने थियो । तर भित्रभित्रै एउटा कम्पनीलाई दिनु गलत हो । जिम्मा दिइएको कम्पनी पनि अन्त्यन्त विवादित छ । अपारदर्शी तरिकाले निर्णय गर्नु सरासर गलत हो ।

यस विषयमा नेपाली कांग्रेसले संसदमा मुद्दा उठाउन सक्दैन ?
यि कुराहरु उठिहरन्छन् ।

अहिलेको अवस्थामा बुढिगण्डकी आयोजना अगाडि बढाउनु हुन्छ कि हुँदैन ?
अगाडि त बढाउनुपर्छ । तर सही निर्णय गरेर अगाडि बढाउनुपर्छ । ढिला गर्नुहुँदैन ।

प्रदेश नम्बर २ को चुनावमा नेपाली कांग्रेसले ल्याएको नतिजालाई कसरी लिनुभएको छ ?
कतिपय ठाउँमा उम्मेदवार छनौट गर्दा गलत तरिकाले छनौट गरिएको छ । राम्रा मान्छे भन्दा हाम्रालाई उम्मेदवार बनाएको नतिजा हो । ठाउँठाउँमा उचित उम्मेदवार छान्न नसक्दा कांग्रेस कमजोर बनेको हो ।

विमलेन्द्र निधीको गृह जिल्ला धनुषामा कांग्रेस किन कमजोर भयो ?
त्यो त म भन्न सक्दिन । उहाँहरु आफैले भन्नुहुन्छ । म ५ दिन तराई मधेशका जिल्लामा घुमे । मेरो विचारमा त उपयुक्त उम्मेदवार छान्न नसक्नु नै ठूलो कमजोरी हो । यद्यपी यो नतिजालाई असाध्यै कमजोर मान्नु हुँदैन ।

प्रदेश र संसदको चुनावमा कांग्रेसले माओवादीसँग तालमेल गर्ने हो ?
राष्ट्रिय तहमा नेकपा माओवादी केन्द्रसँग तालमेलको सम्भावना देख्दिन । तर स्थानीय तहमा भने आवश्यकता र अनुकूलता अनुसार तालमेल हुन्छ ।



प्रतिक्रिया दिनुहोस्