Logo

रेखा थापाको आरोप : कमल थापाले हामीजस्ता क्षमतवान नारीलाई ‘सो–पिस’का रुपमा लिए’



धनराज वास्तविक : काठमाडौ, ७ असोज । राप्रपा केन्द्रीय सदस्य तथा गायिका कोमल वली एमालेमा प्रवेश गर्ने पक्का भएको छ । राप्रपाकी निवार्चित केन्द्रीय सदस्य समेत रहेकी नेतृ वली सोमबार अध्यक्ष केपी शर्मा ओलीको हातबाट टीका लगाएर एमालेमा प्रवेश गर्ने कार्यक्रम तय भएको छ ।

यता राप्रपा प्रजान्त्रिकमा रहेकी नायिका रेखा थापा कोमल एमालेमा प्रवेश हुने खबरले खुशी भएकी छिन् । रिपोर्टर्स नेपाल डटकमसँगको संक्षिप्त कुराकानीमा नायिका थापाले भनिन्,‘कोमल दिदी एमालेमा प्रवेश गर्ने खबर तपाईबाटै पहिलोपटक सुन्न पाएँ साह्रै खुशी छु।’

राप्रपाभित्र कोमलजस्तो क्षमतावान नारीलाई ‘सो–पिस’ का रुपमा राखिएको आफूले महसुस गरेको तितो अनुभव सुनाउँदै उनले थपिन्,‘जे होस, उहाँले बेलैमा निर्णय लिनुभयो, एमालेमा उहाँको क्षमताको कदर हुनेछ भन्नेमा म पूर्ण विश्वस्त छु।’

जनताको सेवामा लगाव र झुकाव भएर सक्रिय राजनीतिमा होमिएका नारीहरुलाई ‘सो–पिस’का रुपमा लिन नहुने धारणा राख्दै उलने भनिन्,‘कमल थापा नेतृत्वले हाम्रो उपस्थितिलाई जनता जम्मा गर्ने र माहोल बनाउने गोटीको रुपमा लियो, त्यो नै सबैभन्दा ठुलो दुर्भाग्य भयो, आज पार्टी चक्नाचुर भयो, अर्कोतर्फ नेता कार्यकर्ताहरु छिन्नभिन्न भए।’

उनले भनिन्,‘हरेक व्यक्तिमा आफ्नै प्रकारको स्वतन्त्रता हुन्छ, मन लागेको पार्टीमा लागेर काम गर्न पाउने उसको अधिकार हो, बिचारहीन भएर कुनै पार्टीमा रहिरहनुभन्दा बाहिरिनु नै उचित हुन्छ, म त कोमल दिदीको पार्टी परिवर्तनले खुशी भएकी छु, एमालेले कुनै पनि रुपमा कोमल दिदिलाई राज्यको माथिल्लो निकायमा पुर्याउनेछ, मैले यही कामना गरेकीछु।

तपाई चाहीँ के गर्नु हुन्छ नि भनेर गरिएको प्रश्नको जवाफमा नायिका थापाले भनिन,‘म अहिले जहाँ छु ठीक छु, कुनै व्यक्तिले राजनीतिक भविष्य सुरक्षित हुने ठाउँको खोजि गरिरहेकै हुन्छ, तर चलचित्र रुद्रप्रियाको व्यापक तयारीमा छु।’

राप्रपामा केन्द्रीय सदस्य जितेर पनि जिम्मेवारीविहीन बनाइएको गुनासो गर्दै एमालेमा प्रवेश गर्न लागेकी वली रेडियो नेपालको जागिर छाडेर पूर्णकालीन राजनीतिमा होमिएकी छिन् ।



प्रतिक्रिया दिनुहोस्