Logo

भिम रावलले भने, “तराई मधेशका जनताप्रति प्रतिवद्ध एमालेले जति मत ल्याएको छ, त्यो राम्रो हो”



असोज ८, काठमाण्डौ । नेकपा एमालेका उपाध्यक्ष भिम रावलले पार्टीको केन्द्रिय समितिको बैठकमा अध्यक्ष केपी ओलीले प्रस्तुत गरेको राजनीतिक प्रतिवेदनमाथि छलफल भइरहेको जानकारी दिएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा ऋषि धमलासँग कुरा गर्दै नेता रावलले प्रतिवेदनमा समग्र राष्ट्रिय परिस्थिती, स्थानीय तहको चुनावको समिक्षा, आगामी प्रदेश र संसदको चुनाव लगायतका विषय प्राथमिकतामा रहेको बताएका छन् ।

निर्वाचनको कार्ययोजनाको बारेमा पनि बैठकमा गम्भीर रुपमा कुरा भइरहेको रावलले बताए । उम्मेदवार चयनको विषय पनि प्राथमिकतामा रहेको रावलको भनाई छ ।
नेता रावलले तराई मधेशमा नेकपा एमाले पराजय भयो भन्ने कुरा अस्विकार गरेका छन् । केही कम स्थान मात्र प्राप्त गरेको तर्क गर्दै रावलले भने, “सदस्यहरु र अध्यक्ष निर्वाचित भएको संख्या हेर्नुभयो भने अहिले पनि नेकपा एमालेले महत्वपूर्ण विजय हासिल गरेको छ ।”
तराई मधेशका जनताप्रति प्रतिवद्ध एमालेले जति मत ल्याएको छ, त्यो राम्रो हो भन्न चाँही नसकिने रावलको तर्क छ । तर केही दलहरुले मधेशी जनताका अधिकारका नाममा जेजे विषय उठान गरेका थिए, ति माग जनताको होइन भन्ने पुष्टी भएको रावलको तर्क छ ।

निर्वाचनको घोषणा भएपछि सरकारले स्थानीय तह थप गर्नु र मन्त्रीमण्डल विस्तार गर्नु गलत भएको बताउँदै रावलले सरकारले प्रशासनको दुरुपयोग गरेको आरोप लगाए । सरकारले नै नेकपा एमालेको विरुद्धमा भ्रम फैल्याएकोसमेत रावलको आरोप छ । एमाले उम्मेदवारको घरमा बम पड्काउनेदेखि एमालेलाई मधेश विरोधीको संज्ञा दिएर हराउने षडयन्त्र गरिएको रावलको दाबी छ ।

“म अहिले पनि चुनौतिका साथ भन्छु, तराई मधेशमा स्वच्छ निर्वाचन हुने हो भने नेकपा एमालेले अहिले जति जितेको छ, त्यो भन्दा धेरै गुणा बढि जितेर एक नम्बरमा आउँछ ।”
राजपा लगायतका केही दलले जनताको माग भनेर जे अघि सारेका थिए, चुनावको नतिजाले त्यो गलत साबित गरेको तर्क नेता रावलको छ ।

एमालेले तराई पहाड र हिमालबिचमा एकता, सामाजिक सद्भाव र जनताको हक हित चाहेको बताउँदै आगामी निर्वाचनलाई प्रभावकारी बनाउने योजना बनाउने बताए ।
आगामी प्रदेश र संसदको चुनावमा नेकपा एमाले सबै ठाउँमा पहिलो ठूलो दल बन्ने दाबी रावलको छ । ठूला नेताहरुको क्षेत्रदेखि वडामा समेत पराजय भएको सवालमा गम्भीर छलफल गरिने रावलले बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्