Logo

राजपाले पनि आफ्नो हाइट त नापिसक्यो होला, अब मिलेर जानुपर्छ



प्रदेश नम्बर २ को चुनावको नतिजाले संघिय समाजवादी फोरमलाई त्यस प्रदेशमा दोस्रो ठूलो शक्तिको रुपमा उभ्याएको छ । प्रदेश नम्बर २ को चुनावी समिक्षा, आगामी संसद र प्रदेशको चुनाव लगायतका विषयमा फोरमका अध्यक्ष उपेन्द्र यादवसँग ऋषि धमलाले कुराकानी गर्नुभएको छ । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसका लागि गरिएको कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरिएको छ ।

प्रदेश नम्बर २ को चुनावी नतिजाप्रति तपाई सन्तुष्ट हुनुहुन्छ ?
जनताले गरेको निर्णयलाई म सम्मान गर्छु । जनताले जुन रुपमा मतदान गरेर साथ दिएका छन्, त्यसप्रति म सन्तुष्ट छु । हामीले उठाएको मधेशी जनताको मुद्धा र संघर्षलाई मतदाताले सम्मान दिएका छन् ।

एजेण्डाको जित हो कि सही व्यक्ति छानिएको हो ?
फोरम नेपाल नै हो जसले मधेशी जनताको मुक्ति, पहिचान र अधिकारका लागि संघर्ष ग¥यो । त्यसमा सफल पनि भयो । त्यसैले जनताले साथ दिएका हुन् ।

चुनावअघि जनताको घरदैलोमा जाँदा तपाईले भन्नुभएको थियो, एजेण्डाको जित हुनुपर्छ भनेर । तर कांग्रेसलाई नि जनताले मतदान गरे नि ?
कांग्रेस भनेको त पहिलेदेखि नै तराई मधेशमा दुई तिहाइ जित हासिल गर्ने पार्टी हो । आज कांग्रेसको जरो तराईबाट उखेलिएको छ । अहिले मधेश केन्द्रित दलहरुको विजयी स्थान जोड्ने हो भने कांग्रेस पछाडि परिसकेको छ । अहिलेको जस्तो प्रतिस्पर्धा कांग्रेसले तराई मधेशमा कहिलै पनि बेहोर्नु परेको थिएन ।

फोरम नेपाललाई जनताले दिएको मतप्रति सन्तुष्टी भइरहँदा राजपा र तपाईको दलबिच तालमेल भएको भए के हुन्थ्यो ?
यदी तालमेल भएको भए मधेशको ९० प्रतिशत सिट हामीतिर आउँथ्यो । हामीले तालमेल गर्न चाहेको पनि हो । तर हुन सकेन ।

मधेशी जनताले यहाँहरुले उठाएका कुन मुद्दालाई मन पराए भन्ने लाग्छ ?
हामीले उठाएका मुद्दाहरुमध्ये मधेशको विकास र मधेशी जनतामाथि भएको विभेदको अन्त्य गर्ने मुद्दा जनताले रुचाएका छन् ।

तपाईहरुले मधेशी जनताको हितका मुद्दा उठाउनुहुन्छ । तर कार्यान्वयन गर्न सक्नुहुन्न भन्ने गुनासो मधेशी जनताको छ नि ?
त्यो आरोप हाम्रो दललाई लागु हुँदैन । संघियताको कुरा हामीले लडेर ल्यायौँ । त्रुटिपूर्ण नै भए पनि संघियता अगाडि बढेको छ । हामीले स्थानीय तहको चुनाव र यसअघिको संविधानसभाको चुनावको माध्यमबाट तराई मधेशका सबै पिछडिएका जनताको अस्तित्व कायम भएको छ । जुन मुद्दाका लागि मधेशमा जनविद्रोह भएको थियो, त्यो विस्तारै स्थापित हुँदै गएका छन् । बाँकी उपलब्धि हामी विस्तार हासिल गर्दै जान्छौँ ।

तपाईहरु संविधान संशोधनको विषयमा पछि हट्नुभयो भने आरोप छ नि ?
त्यो आरोप झुटो हो । हामी संविधान संशोधनको पक्षमा छौँ । म अहिले पनि संविधानको पुर्नलेखन गर्नुपर्छ भन्ने अडानमा छु । यो संविधानले देशलाई धान्न सक्दैन । चुनावलाई हेर्ने हो भने लोकतन्त्रको सट्टा धनतन्त्र स्थापित भएको छ । विकृति र विसंगती मौलाउँदै गएका छन् । यो संविधानको कार्यान्वयका सवालमा चुनावपछि झन जटिलता आउँछ । त्यसैले संविधानको पुर्नलेखन गर्नु जरुरी छ ।

प्रदेश र संसदको चुनावमा प्रदेश नम्बर २ मा एमालेलसँग तपाईको दलको तालमेल हुन सक्छ ?
अहिले त त्यो सम्भावना देखेको छैन । अरु कुनै दलसँग पनि सम्भावना देखेको छैन । पछि कुराकानी हुँदा कोसँग गर्ने कोसँग नगर्ने भन्ने थाहा हुन्छ ।

राजपासँगको सम्भावना कत्तिको छ ?
असम्भव छैन । मिलेर जानुपर्छ । राजपाले पनि आफ्नो हाइट त नापिसक्यो होला । आफ्ना अहंकार, दम्भ, घृणाालाई बुझिसक्यो होला । ६ जना नेतालाई कसैले मिलाइदियो । अब ६ तिर मुख फर्कियो भने दम्भ हराउँछ । त्यसैले अब पनि नसिक्ने हो भने मधेशका नाममा के राजनीति गर्छन् ?

आगामी निर्वाचनमा महन्थ ठाकुर र तपाईको कुरा मिल्छ ?
राजपामा विगार्ने तत्वहरु धेरै छन् । त्यहाँ सिद्धान्तहिनता र जातिय घृणा छ । ति कुराहरुलाई त्यागेर अगाडि बढ्ने हो भने हामी हात मिलाउन तयार छौँ ।

बाबुराम भट्टराईसँग एकता गर्ने सम्भावना सकिएको हो ?
त्यस्तो छैन । समय आउँछ ।



प्रतिक्रिया दिनुहोस्