Logo

आफ्नो पद नै धरापमा परेपछि मन्त्री देवले गौतमलाई मन्त्रालय ताने



काठमाडौ, १० असोज । नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमले पर्यटनमन्त्री जीतेन्द्रनारायण देवलाई चौबीस घन्टे स्पष्टीकरणपत्रको जवाफ बुझाए लगत्तै राजनीतिक वृत्तमा नयाँ तरंग पैदा भएको थियो ।

सत्तारुढ दल नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले मन्त्री देवको कार्यशैलीले पार्टीलाई नै असर पार्ने भन्दै उनलाई मन्त्रीबाट फिर्ता बोलाउने तयारी गरेका थिए । उनको यो तयारीसँगै मन्त्री देवले आफूलाई सच्याएका छन् । उनले गौतमलाई मन्त्रालयमा नै तानेका छन् ।

मुलुकको उड्डयन क्षेत्रको नियामक निकाय प्राधिकरणजस्तो ठाउँमा मन्त्रीले हात हालेर गलत गरेको भन्दै चौतर्फी आलोचना भएको थियो । गौतमलाई गत भदौ २७ गते सोधिएको ११ बुँदे स्पष्टीकरणको जवाफ चित्त बुझ्दो नभएको तर्क गर्दै मन्त्री देवले असोज ५ गते पुनः चौबीस घन्टे स्पष्टीकरण सोध्ने निर्णय गरेका थिए ।

केही उपाय नलागेपछि कार्यसम्पादन स्तरको बहाना बनाएर मन्त्री देवले महानिर्देशक गौतमलाई नियतवस पदमुक्त गर्ने उद्देश्य राखेको प्रस्ट भएको छ।

सम्बद्ध स्रोतका अनुसार महानिर्देशक गौतमले सोमबार चार पृष्ठ लामो जवाफ मन्त्री देवलाई बुझाएका थिए । सिंहदरबारस्थित पर्यटन मन्त्रालयमा रहेको मन्त्री सचिवालयमा दिउँसो ४ः४५ बजे गौतमले चौबीस घन्टे स्पष्टीकरणपत्रको जवाफ बुझाएका हुन् ।

 



प्रतिक्रिया दिनुहोस्