Logo

सुर्खेत उपत्यकालाई भिडियोमा देख्न पाइने



सुर्खेत, १० असोज : सुर्खेत उपत्यकालाई नक्सामा मात्र होइन भिडियोमा पनि देख्न पाइने भएको छ ।

उपत्यकाको बृहत्तर गुरुयोजनाअन्तर्गत यहाँको सबै वस्तुस्थितिलाई ड्रोन क्यामरामार्फत भिडियो दृश्यका रुपमा देखाइने भएको हो ।

आजदेखि ड्रोन क्यामरामार्फत सबै दृश्य उतारेर डकुमेन्ट्रीमार्फत प्रस्तुत गरिने वीरेन्द्रनगर नगरपालिकाका प्रमुख देवकुमार सुवेदीले बताउनुभयो । सोमबार उक्त क्यामराको परीक्षणसमेत गरिएको थियो ।

वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा ब्ल्याक पेपर टेक्नोलोजीका सञ्चालक सन्तोष सुवेदी र समाज जागरण केन्द्र (स्याक नेपाल) का प्रकाश सुवेदीको समन्वयमा भिडियो दृश्यहरु तयार गरिँदैछ । यसका लागि नगरपालिकाले करिब रु डेढ लाख बजेट व्यवस्था गरेको सुवेदीले बताउनुभयो ।

उक्त क्यामरा जमिनदेखि १६ हजार फिट माथिबाट उपत्यकाका दृश्यहरु कैद गरिनेछन् ।

“यो क्यामरा २४ हजार फिट माथिबाट पनि चलाउन सकिने भए तापनि यहाँ १६ हजार फिट माथिबाट मात्र दृश्यहरु लिन्छौँ” प्रमुख सुवेदीले भन्नुभयो, “असोज महिनासम्म दृश्य खिचेर आधा घण्टासम्मको डकुमेन्ट्री तयार गर्छौं ।” यसबाट उपत्यकाको सबै वस्तुस्थिति र नक्सालाई भिडियोबाटै देखाइने उहाँले बताउनुभयो ।

भिडियोमार्फत यहाँका भौतिक अवस्थाका बारेमा अध्ययन गर्ने र सोहीअनुरुप विकासका योजना बनाएर अघि बढ्ने यसबाट सहयोग हुने सुवेदीले बताउनुभयो । “यो क्यामराको माध्यमबाट यहाँको बाटोघाटो, वन जंगल, खोलानाला तथा बस्तीको भिडियो दृश्यहरु राखिन्छ”, उहाँले भन्नुभयो, “जसबाट कहाँ विकासको आवश्यकता छ भन्ने पहिचान हुने र विकासका काम अघि बढाउन सहज हुनेछ ।”

ड्रोन क्यामरा चलाउनका लागि गृह मन्त्रालय तथा प्रशासनबाट स्वीकृति लिइसकेको प्रमुख सुवेदीले बताउनुभयो । नगरपालिकाले सो क्यामराको परीक्षण गरेको छ ।

स्याटलाइटबाट लिन लागेको यस्तो भिडियो दृश्यबाट उपत्यकाको जुनसुकै स्थान हेर्न सहज हुने ड्रोन ब्ल्याक पेपर कम्पनीका सञ्चालक सन्तोष सुवेदीले बताउनुभयो ।

‘नक्साबाट भौगोलिक अवस्था छुट्याउन अप्ठेरो हुन्छ’ उहाँले भन्नुभयो, ‘यस्ता दृश्यबाट नक्सा हेरेर जुनसुकै ठाउँको पहिचान गर्न पनि सहज हुन्छ ।’

यस्तो खालको प्रविधिले पर्यटनको क्षेत्रमा टेवा पुग्ने समाज जागरण केन्द्र (स्याक)का प्रकाश सुवेदीले बताउनुभयो । रासस

 



प्रतिक्रिया दिनुहोस्