काठमाडौं, असोज ११ । भुटानको थिम्पुमा जारी अन्डर–एट्टिन साफ च्याम्पियनसीप फुटबलको चौथो खेलमा आज नेपालले भारतसँग खेल्दैछ ।
यसअघिका दुई खेलमा जित र एक खेलमा हार बेहोरेको नेपालले फाइनल पुग्न आजको खेल जित्नैपर्ने दबाब छ ।भुटानसँग पराजित हुँदा बंगलादेश र माल्दिभ्सलाई हराएको नेपाल ६ अंकसहित तेस्रो स्थानमा छ ।
समान ६ अंकबाट भारत शीर्ष स्थानमा, बंगलादेश दोस्रो स्थानमा र भुटान चौथो स्थानमा छन् ।पाँच टिम सहभागी प्रतियोगितामा सबैले एक अर्काविरुद्ध खेलिसकेपछि अंक तालिकाको शीर्ष स्थानमा रहने दुई टिमबीच फाइनल खेल हुनेछ ।
शीर्ष दुईमा रहन नेपालले भारतलाई जित्नैपर्नेछ । आज साँझ पौने ७ बजे सुरु हुने खेलको विजेताले उपाधिका लागि फाइनल खेल्नेछ । त्यस्तै अर्को खेलमा बंगलादेश र भुटान भिड्ने छन् । यो खेलको विजेता पनि फाइनलमा पुग्नेछ ।