Logo

मृतकका परिवारलाई रु दुई लाखभन्दा बढी सहयोग



रामपुर, पाल्पा, ११ असोज (रासस) ः वैदेशिक रोजगारीको सिलसिलामा युएईमा मृत्यु भएका पाल्पा माथागढी गाउँपालिका–४ झडेवाका गंगा सारुको परिवारलाई पाल्पाली समाज युएईले आर्थिक सहयोग उपलब्ध गराएकोे छ ।

रोजगारीको सिलसिलामा युएई पुगेको तीन महिनामै गत असार ३० गते मृत्यु भएका २१ वर्षीय सारुको परिवारलाई रु दुई लाख ३५ हजार ९०० सहयोग रकम हस्तान्तरण गरिएको हो ।

सारुका श्रीमती दुनिषा सारुलाई काजक्रिया खर्चबापत ३५ हजार ९०० र दुई छोराको पढाइ खर्चबापत रु एक÷एक लाख गरी कुल रु दुई लाख ३५ हजार ९०० प्रदान गरिएको सहयोग रकम माथागढी गाउँपालिकाका अध्यक्ष सन्तोष थापाले हस्तान्तरण गर्नुभयो ।

उहाँले पाल्पाली युएई समाजले गरेको नयाँ कार्यको धन्यवाद दिँदै सारुका दुई छोरालाई माथागढी गाउँपालिकाभित्र कक्षा १२ सम्म निःशुल्क अध्ययनको व्यवस्था मिलाउने बताउनुभयो ।

पाल्पाली समाज युएईका कोषाध्यक्ष कैलाश अर्यालले सारुको निधनलगत्तै शुरुमा समाजले सारुको शव स्वदेश पठाउन पहल गरेको र बच्चाको पढाइलाई मध्यनजर गर्दै युएईमा रहेका नेपाली दाजुभाइ तथा दिदीबहिनीमार्फत रकम संकलन गरेर राहतस्वरुप सहयोग हस्तान्तरण गरेको बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्