Logo

कास्कीमा चुनावी माहोल तात्दै



पोखरा, १२ असोज : प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनको मिति नजिकिएसँगै कास्कीमा यतिबेला चुनावी माहोल तात्न थालेको छ ।

क्षेत्रीय निर्वाचन कार्यालयले चुनावी कार्यक्रम र राजनैतिक दलले उम्मेदवार छान्न शुरु गरेपछि चुनावी माहोल बिस्तारै तात्दै गएको हो ।

नेकपा (माओवादी केन्द्र), नयाँ शक्ति पार्टी नेपाल कास्कीले प्रतिनिधिसभाका तीन र प्रदेश सभाका ६ निर्वाचन क्षेत्रका लागि उम्मेदवार छनोट गरेर केन्द्रमा सिफारिस गरिसकेका छन् भने नेपाली काँग्रेस र नेकपा (एमाले) भने उम्मेदवार छान्नमै व्यस्त रहेका छन् ।

दुई ठूला दलका आकाङ्क्षी धेरै भएकाले टिकट पाउनका लागि नेताहरुको घरदैलोमा धाउन थालेको देखिन्छ । क्षेत्रीय निर्वाचन कार्यालयले निर्वाचनका कार्यक्रमलाई तीव्र पार्न मतदाता शिक्षा कार्यक्रमको तयारीमा रहेको क्षेत्रीय निर्वाचन कार्यालयका प्रमुख गंगालाल सुवेदीले जानकारी दिनुभयो ।

एक महानगरपालिका र चार गाउँपालिका रहेको यो जिल्लामा दुई लाख ५६ हजार ४०१ मतदाता छन । जसमा पुरुष एक लाख १९ हजार ५१६, महिला एक लाख ३६ हजार ८८१ र तेस्रो लिङ्गी चारजना छन् । आगामी मंसिर २१ गते जिल्लामा प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन हुँदैछ । (रासस)



प्रतिक्रिया दिनुहोस्