Logo

दशैंलगत्तै राजनीतिमा आउने युवा विद्यार्थी कँडेलको घोषणा



काठमाडौं, १२ असोज । पब्लिक ईनोभेटर दिपेन्द्र कँडेलले आफू दशैंलगत्तै राजनीतिमा आउने भन्दै पाँच सूत्रीय नयाँ एजेण्डा अघि सारेका छन् ।

बिहीबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर उनले यस्तो घोषणा गरेका हुन् । उनले राजनीतिप्रति आफ्नो सानैदेखिको रुचि भएकोले आफू यो क्षेत्रमा आउन लागेको समेत जनाए । उनले भने,‘काठमाडौंको कलेज अध्ययनका क्रममा पनि विद्यार्थी राजनीतिप्रति मेरो असाध्यै झुकाव थियो, त्यसैले म अब राजनीतिमा आउन लागेको हुँ।’

दशैंलगत्तै आफू राजनीतिमा आउने भएपनि अहिल्यै नै यही पार्टीबाट प्रतिनिधित्व गर्ने भन्नेबारे कुनै निर्णय नभईसकेको उनको भनाई थियो ।  उनले भने,‘हुन त म पूरानै पार्टीबाट प्रतिनिधित्व गर्ने तयारीमा छु, तर प्रमुख तीन ठूला दलहरुमध्येमा पनि को सँग मेरो एजेण्डा बढि मिल्छ त्यो हेर्न बाँकी छ।’

त्यसको लागि उनले पाँच खम्बे नीति अघि सारेका छन् । जसमध्ये तीन प्रदेश या पाँच विकास क्षेत्रलाई नै प्रदेशको रुपमा कायम गर्नुपर्ने, समानूपातिक निर्वाचन प्रणालीको खारेजी गर्नुपर्ने, विकास विरोधी विद्यार्थी राजनीतिको अन्त्य हुनुपर्ने, नयाँ राजनीति दल होईन अब पूरानैलाई आधुनिक बनाउनुपर्ने र प्रत्यक्ष निर्वाचित राष्ट्रपति वा प्रधानमन्त्री कार्यकारी प्रमुख हुनुपर्ने रहेका छन् ।

उनले यसको लागि दशैंलगत्तै प्रमुख दलका शीर्ष नेताहरुसँग गम्भिर छलफल तथा अन्तरक्रिया गर्ने र त्यसपछि कुन पार्टीमा आवद्ध हुने भन्नेबारेमा निश्कर्षमा पुग्ने जानकारी दिए । उनले भने,‘मैले अघि सारेका पाँच खम्बामध्ये जो सँग एजेण्डामा नजिक हुने हो त्यही पार्टीबाट प्रतिनिधित्व गर्ने मेरो सोच छ।’

त्यस्तै उनले आफ्नो राजनीति थलो काठमाडौं उपत्यकालाई नै बनाउने समेत स्पष्ट पारे ।उनले भने,‘उपत्यकाका तीन जिल्ला काठमाडौं, भक्तपुर र ललितपुरमै केन्द्रित भएर म राजनीतिमा सक्रिय भएर आउँछु।’ स्थानीय तहको निर्वाचनको मतपरिणाम सार्वजनिक भएको भोलिपल्टै यसरी पत्रकार सम्मेलनमार्फत आफू राजनीतिमा आउने जानकारी गराउनुलाई उनले गर्वको महशुस गरे ।

उनले भने,‘आज साँच्चिकै विशेष महत्वको दिन हो, मैले स्थानीय तहको निर्वाचनको मतपरिणाम पूर्ण रुपमा सार्वजनिक भएपछि आज आफ्नो योजनाहरु सेयर गर्ने मौका पाएको छु, यसको लागि म कृतज्ञ छु।’ यद्धपी उनले स्थानीय तहको प्रशासनीक पूर्नसंरचना गर्नुपर्नेमा समेत जोड दिए ।

त्यस्तै कँडेलले दशैं, तिहार, छठ लगायतका चाडपर्वको उपलक्ष्यमा सबै नेपाली दाजुभाई तथा दिदिबहिनीहरुमा शान्ति, सुख, र समृद्धिको कामना गर्दै शुभकामना दिए।

हाल दुवईमा अनुशन्धान गरिरहेका ईन्जिनियर कँडेलले आफू दशैंलगत्तै राजनीतिमा आउने घोषणा गरेका हुन् । कँडेलले पुलचोक क्याम्पसबाट मेकानिकल ईन्जिनियरिङमा स्नातक गरेका छन् भने अमेरिकाबाट एम.बिए गरेका छन् । त्यस्तै उनले जन प्रशासनमा विशिषट कोर्स समेत हाँसिल गरेका छन् ।



प्रतिक्रिया दिनुहोस्