Logo

निर्वाचनपछि मुलुकलाई आर्थिक समृद्धितर्फ लैजानुपर्छ : सांसद महतो



काठमाडौँ, १४ असोज । संघीय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवम् सांसद डा. विरेन्द्र प्रसाद महतोले राष्ट्रिय एकता, अखण्डता, राष्ट्रिय स्वाभिमान, शान्ति र लोकतन्त्रको दिशामा मुलुकलाई अगाडि बढाउन बडा दशैंबाट सबैमा प्रेरणा मिलोस भन्ने कामना गरेका छन् ।

वडादशैं २०७४ को अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीमा हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दै सांसद महतोले यस्तो कामना गरेका हुन् ।
उनले जननिर्वा्चित संविधानसभाबाट जारी संविधानको प्रभावकारी कार्यान्वयनको दिशामा मुलुक अगाडि बढेको र हालै सम्पन्न स्थानीय तहको निर्वाचन संविधान कार्यान्वयनको महत्वपूर्ण खुड्किलो साबित भएको समेत बताएका छन् ।

महतोले जारी गरेको शुभकामना सन्देशमा भनिएको छ,‘स्थानीय तहको निर्वाचनले आधारभूत तहमा लोकतन्त्र र गणतन्त्रलाई संस्थागत गरेको छ, प्राकृतिक र सांस्कृतिक विविधताको धनी हाम्रो मुलुकमा विकासको प्रचुर सम्भावना छ । हामी बीचको एकता, राष्ट्रिय स्वाभिमान र दूरदर्शी नेतृत्वको मात्र खाँचो छ । ’

त्यस्तै उनले आगामी मंसिर १० र २१ गतेको प्रदेश सभा र प्रतिनिधि सभाको निर्वाचन सम्पन्न भएपछि राजनीतिक संघर्ष मूलतः समाप्त हुने र आर्थिक विकासको चरणमा प्रवेश गर्ने विश्वास दिलाए । उनले मुलुक विकासमा जुट्नको लागि सबै नेपालीहरुलाई आ आफ्नो ठाउँबाट लागिपर्न समेत हार्दिक अपिल गरेका छन् ।

तस्विर : होप म्यागजिनबाट 



प्रतिक्रिया दिनुहोस्