Logo

चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएका अर्नाको स्वास्थ्यमा सुधार



चितवन, १५ असोज (रासस) ः साउन अन्तिम साता आएको बाढीपछि स्वास्थ्य अवस्था निकै नाजुक बनेको चितवन राष्ट्रिय निकुञ्जमा खुला खोरमा राखिएका अर्नाको अवस्थामा सुधार आएको छ ।

कोशी टप्पुबाट स्थानान्तरण गरी यहाँ ल्याइएका अर्नाको स्वास्थ्य एकाएक बिग्रेपछि निकुञ्ज विभागको टोलीले आकस्मिक निरीक्षण गरी आवश्यक स्वास्थ्योपचार र पौष्टिक तत्वसहितको खाना खुवाउन निर्देशन दिएको थियो ।

निकुञ्जका सहायक संरक्षण अधिकृत अभिनय पाठकका अनुसार पौष्टिक खाना र जुकाको औषधि दिइएसँगै अर्नाको स्वास्थ्यमा सुधार आएको हो । पाठकले भन्नुभयो, “असोज १३ गते म जाँदा अपत्यारिलो ढङ्गबाट दश वटै अर्नाको अवस्थामा निकै सुधार आएको पाइयो । बाढीले घाँसेमैदान र पानीपोखरी पुरिएको, पानी प्रदूषित भएको र आवश्यक खानाको अभावका कारण अर्नाको स्वास्थ्य नाजुक भएको हो ।”

चितवन राष्ट्रिय निकुञ्जका प्रमुख संरक्षण अधिकृत रामचन्द्र कँडेलका अनुसार बाढीपछि दुई अर्ना मरिसकेका छन् भने अन्य अति दुब्लाएको अवस्थामा पुगेका थिए । उनीहरुको च्यापु सुनिएको थियो । जुकाको औषधि खुवाइएसँगै सुनिएको च्यापु बसेको छ । चितवन राष्ट्रिय निकुञ्जको पुरानो पदमपुरमा खुला खोरमा १५ अर्ना कोशी टप्पु र सदर चिडियाखानाबाट ल्याएर राखिएको थियो । चिडियाखानाबाट ल्याइएका तीन अर्ना यसअघि नै मरिसकेका थिए ।

अर्नाको अवस्था बिग्रिएपछि निकुञ्ज विभागका उपमहानिर्देशक गोपालप्रकाश भट्टराईको नेतृत्वमा यही असोज २ गते आएको टोलीले स्थलगत अध्ययन गरी आवश्यक निर्देशनसमेत दिएको थियो । टोलीले अर्नालाई प्राकृतिक रुपमा भएको भन्दा अतिरिक्त खाना दिने, घाँसेमैदानको व्यवस्थापन गर्ने, सतहमुनिको सफा पानी तानेर खुवाउने लगायत निर्देशन दिएको थियो । त्यसपछि निकुञ्जले अर्नालाई आयोडिनयुक्त नुन, चोकर, मकैको घाँस, परालसहित भिटामिन र खनिज दिँदै आएको छ ।

खुला खोरभित्र व्यवस्थापन गरिएको घाँसेमैदान हिलोबाट पुरिएको छ भने निर्माण गरिएका पानीका पोखरी पुरिएर बगर बनेका छन् । निकुञ्जले अहिले ढड्डी भएका क्षेत्रमा फाँडेर घाँसेमैदान व्यवस्थित गर्दैछ । मिचाहा प्रजातिका वनमारा, माइकेनिया जस्ता झार हटाउने कार्य भइरहेको छ । गत भदौ १८ गतेपछि अर्नाको स्वास्थ्य बिग्रिँदै गएको हो । दिनहुँ स्वास्थ्य बिगिँ्रदै गएपछि गोबर परीक्षण गरिएको थियो । पानी परीक्षणका लागि काठमाडौँ पठाइएको छ ।

विभागले एक ठाउँमा मात्रै रहेका दुर्लभ वन्यजन्तुलाई महामारी रोगबाट बचाउन विभिन्न ठाउँमा स्थानान्तरण गर्दै आएको छ । सोहीअनुसार गत माघ १३ देखि २४ गतेसम्म कोशीटप्पु र सदर चिडियाखानाबाट १५ अर्ना चितवन राष्ट्रिय निकुञ्जमा ल्याइएको थियो । चिडियाखानाबाट ल्याइएका एक भाले र दुई पोथी गत जेठमा नै मरेका थिए । बाँकी रहेका दुई भाले र आठ पोथी अर्ना सङ्क्रमित भएका हुन् ।

सोही खोरमा शुक्लाफाँटाबाट ल्याइएका सात बाह्रसिङ्गेमध्ये तीन मरेका छन् भने तीन हराइरहेका छन् । खोरमा एउटा मात्रै बाह्रसिङ्गे देखिएको छ । सहायक संरक्षण अधिकृत पाठकका अनुसार खोरभित्रै चित्तलको समूहमा अर्को बाह्रसिङ्गे भएको अनुमान गरिए पनि यकिन गर्न सकिएको छैन । अर्ना र बाह्रसिङ्गे राखिएको क्षेत्रलाई निकुञ्जका कर्मचारी र नेपाली सेनाले सुरक्षा दिइरहेका छन् ।



प्रतिक्रिया दिनुहोस्