Logo

दोलखा भिमसेनलाई यस वर्ष पनि पसिना, अनिष्ट टार्नका लागि क्षमापुजा गरियो



असोज १६, दोलखा । प्रसिद्ध दोलखा भीमेश्वरलाई पसिना आएपछि सोमबार क्षमापूजा गरिएको छ । करिब एक साताअघि भीमेश्वरलाई एकैदिन दुईपटक पसिना आएको थियो । भिमेश्वरलाई पसिना आएपछि देशमा अनिष्ट हुन्छ भन्ने मान्यता रहेको छ ।

अनिष्ट टरोस भनेर पसिना आएपछि क्षमापुजा गर्ने चलन छ । संकट टरोस भन्दै राष्ष््ट्रपति कार्यालयबाट पठाएको पूजासामग्री सहितले दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो । भीमेश्वरलाई पसिना आएपछि सो पसिना पुछिएको कपास ‘महाप्रसाद’को रुपमा राष्ट्रपति कार्यालय पठाएपछि त्यहाँबाट क्षमापूजा पठाउने प्रचलन छ । पसिना पुछिएको कपास ‘महाप्रसाद’ ग्रहण गर्दै राष्ट्रपतिले विद्यादेवी भण्डारीले ‘मुलुकमा कुनै संकट नआओस् भन्ने कामना गरेकी थिइन् । सोही कामनासहित दोलखा भीमेश्वरमा क्षमापूजा गरिएको हो ।

क्षमापूजाका क्रममा १३ जना पण्डितहरुबाट लघुरुद्री गरिएको छ । सरकारका तर्फबाट जिल्ला प्रहरी कार्यालय दोलखाका प्रहरी नायव उपरीक्षक रामेश्वर कार्की, जनप्रतिनिधिका तर्फबाट भीमेश्वर नगरपालिकाका वडा नम्बर २ का अध्यक्ष विराज श्रेष्ठले लघुरुद्रीको संकल्प गरेका हुन् । सो अवसरमा प्रमुख जिल्ला अधिकारी लक्ष्मण विक्रम थापा र रणभीम गणका गणपति झविन्द्रबहादुर रेश्मीको समेत सहभागिता थियो । लघुरुद्री गरिसकेपछि बलिपूजा गरिन्छ ।

सरकारका तर्फबाट २ र स्थानीयको तर्फबाट २ गरी ४ वटा बोका बलि दिनुपर्ने प्रचलन अनुसार बलिपूजा गरिएको छ ।
क्षमापूजा समापनपछि आजै सो पूजाको प्रसाद राष्ट्रपति कार्यालयमा लगिएको छ ।



प्रतिक्रिया दिनुहोस्