Logo

निर्वाचन आयोगको मर्यादा र गरिमा बढ्ने गरी काम गर्न निर्देशन



नारायण न्यौपाने  : काठमाडौँ, १९ असोज : निर्वाचन आयोगका सचिव बेगेन्द्रराज शर्मा पौड्यालले संवैधानिक अंगका रुपमा रहेको आयोगको मर्यादा, अस्तित्व र गरिमा खस्कने काम नगर्न मातहतका कर्मचारीलाई निर्देशन दिनुभएको छ ।

आगामी मंसिरमा हुने निर्वाचनमा खटिने मतदाता शिक्षा मुख्य प्रशिक्षकका लागि सञ्चालित तालीमको आज यहाँ उद्घाटन गर्दै उहाँले अघिल्लो निर्वाचनमा आयोगले सबैभन्दा आलोचना खेपेको मतदाता शिक्षामा भएको कमजोरीलाई सच्याउने ढंगबाट जिम्मेवारी बहन गर्न सुझाव दिनुभयो ।

सचिव पौड्यालले भन्नुभयो, “तपार्इंहरुले दिने प्रशिक्षणबाट आयोगको सफलता वा असफलता निर्भर गर्छ । मतदाता शिक्षा प्रदान गर्दा यो कस्तोखाले निर्वाचन हो, हामीले कस्तो सरकार गठनका लागि भोट हाल्दै छौँ, अघिल्लोभन्दा यो निर्वाचनमा मतपत्रको ढाँचा फरक छ, बदर नहुने गरी स्पष्ट ढंगबाट मतदातालाई मतदान गर्न सक्ने गरी बुझाउन आवश्यक छ ।”

स्थानीय तहको निर्वाचनमा पदअनुसार लगभग १२ प्रतिशत मत बदर भएको थियो । सदर मत प्रतिशत बढाउन तथा बदर मत प्रतिशत घटाउन निर्वाचन आयोगले यसपटक मतदाता शिक्षालाई उच्च प्राथमिकतामा राखेर कार्यक्रम अघि बढाएको जानकारी दिएको छ ।

आयोगका प्रवक्ता एवं सहसचिव नवराज ढकालले मतदाता शिक्षाका लागि २० हजारको संख्यामा खटिने मतदाता शिक्षा कार्यकर्ताले मत खेर जान नदिन प्रत्येक मतदाताको घरदैलोमा मतदाताबाट आउन सक्ने प्रश्न एवं जिज्ञासाको स्पष्टरुपमा उत्तर दिन सक्नु पर्ने बताउनुभयो ।

निर्वाचन आयोगले आगामी निर्वाचनको तयारीको सन्दर्भमा मतदाता नामावली यकिन भइसकेको, समानुपातिक निर्वाचनतर्फको मतपत्र छपाइ कार्य शुरु भइसकेको, जनशक्ति व्यवस्थापन गर्ने सन्दर्भमा मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको नियुक्ति गर्नाका साथै तालीम र प्रशिक्षण पनि शुरु गरिसकेको छ ।

राजनीतिक दलका नेता तथा कार्यकर्ता, उम्मेदवार तथा मतदातालाई सुसूचित गर्न यसपटक मतदाता शिक्षा निम्ति आयोगले विभिन्न सञ्चारमाध्यमबाट जानकारीमूलक सामग्रीको उत्पादन तथा प्रचारप्रसार गर्नाका साथै नमूना मतदान, अन्तक्र्रियाजस्ता कार्यक्रम सञ्चालन गर्ने जनाएको छ ।

केका लागि हुँदैछ मंसिरमा निर्वाचन

आगामी मंसिरमा हुने निर्वाचन मुलुकमा राजनीतिक परिवर्तन भएपछि संघीय संरचनाको ढाँचा बमोजिम संविधानले निर्दिष्ट गरेअनुरुप केन्द्रीय सरकार र प्रदेश सरकार गठनका साथै संघीय संसद् र प्रदेश व्यवस्थापिका गठनका लागि हो । स्थानीय तहको निर्वाचनबाट यसअघि नै स्थानीय तहको सरकारको गठन भइसकेको छ ।

नेपालको संविधानअनुसार प्रतिनिधिसभा सदस्यका लागि ‘पहिलो हुने निर्वाचित हुने’ निर्वाचन प्रणालीबाट १६५ निर्वाचन क्षेत्रबाट निर्वाचित १६५ जना र समानुपातिक निर्वाचन प्रणालीबाट ११० जना गरी जम्मा २७५ सदस्य चुनिने छन् ।

त्यस्तै, सात वटा प्रदेशसभाका लागि पहिलो हुने निर्वाचित हुने निर्वाचन प्रणालीबाट ३३० निर्वाचन क्षेत्रबाट निर्वाचित ३३० जना र सात वटै प्रदेशबाट समानुपातिकतर्फ चयन भएका २२० समेत गरी जम्मा ५५० सदस्य निर्वाचित हुने छन् ।

सोही क्रममा मुलुक संघीय ढाँचामा प्रवेश गरेपछि संघीयताको कार्यान्वयन गर्ने सिलसिलामा आगामी मंसिर १० र २१ गते प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचन एकैसाथ दुई चरणमा हुँदैछ ।

पहिलो चरणमा हिमाली तथा उच्च पहाडी क्षेत्रका ३२ जिल्ला र दोस्रो चरणमा पहाडी र तराईका गरी ४५ जिल्लामा निर्वाचन हुनेछ ।

कस्तो हुनेछ मतपत्र

मतदातालाई सरल र सहज होस् भन्ने हेतुले निर्वाचन आयोगले आगामी प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा पहिलो हुने निर्वाचित हुने तथा समानुपातिक निर्वाचन प्रणालीका लागि बेग्लाबेग्लै मतपत्रको व्यवस्था गरेको छ ।

समानुपातिक निर्वाचन प्रणालीतर्फको मतपत्र एउटै पानाको माथिल्लो खण्डमा प्रतिनिधिसभाका लागि निर्धारित निर्वाचन चिह्नहरु रहने छन् भने सोही पानाको तल्लो खण्डमा प्रदेशसभा सदस्यका लागि निर्धारण गरिएका निर्वाचन चिह्न रहने गरी मतपत्रको बनाइएको छ ।

मतदाताले आफूलाई मन परेको प्रतिनिधिसभा सदस्यका लागि माथिल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा मत संकेत गर्नु पर्ने छ भने प्रदेशसभा सदस्यका लागि तयार भएको तल्लो खण्डमा रहेका निर्वाचन चिह्नमध्ये कुनै एक निर्वाचन चिह्नमा स्वस्तिक चिह्न लगाउनुपर्छ ।

मत बदर नहोस् भन्नाका लागि मतदाताले चुनाव चिह्न रहेको कोठाको बीचमा पर्ने गरी सजगता अपनाएर मत संकेत गर्नु पर्ने हुन्छ

समानुपातिक निर्वाचन प्रणालीतर्फ सात प्रकारका मतपत्रको व्यवस्था भई मतपत्र छपाइ कार्य पनि शुरु भइसकेको छ । (रासस)



प्रतिक्रिया दिनुहोस्