२० असोज, काठमाण्डौ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री जितेन्द्र देवले आफु पार्टीभित्रैबाट कारबाहीमा पर्ने संकेत देखेपछि पार्टी अध्यक्ष विजयकुमार गच्छादारलाई नै कारबाही गर्ने रणनीति बुनेका छन् ।
लोकतान्त्रिक फोरमले मन्त्री जितेन्द्र देव र भूमिसुधार तथा व्यवस्थामन्त्री डा. गोपाल दहितलाई सरकारबाट फिर्ता बोलाउने निर्णय गरेपछि जितेन्द्र देवले पार्टी अध्यक्ष गच्छादारलाई नै कारबाही गर्ने तयारी गरेका हुन् । पार्टीभित्रका गच्छादार समुहका नेताहरुलाई समेत आफ्नो पक्षमा ल्याएर गच्छादारलाई कारबाही गर्न लागेका हुन् । कारबाहीमा पर्न लागेका अर्का मन्त्री गोपाल दहितसमेत जिेतन्द्र देवको पक्षमा उभिएर कारबाहीमा सघाउन लागेका छन् ।
फोरमको कार्यसम्पादन समिति बैठकमा मन्त्रीद्वयले गरेको भूमिका सन्तोषजनक नभएको आवाज उठेपछि पार्टीले उनीहरुलाई दशैंलगत्तै फिर्ता बोलाउने तयारी गरेको थियो ।
उनीहरूको काम सन्तोषजनक नभएको र गृहजिल्लामा समेत स्थानीय तह निर्वाचनमा सन्तोषजनक नतिजा ल्याउन नसकेको आरोप देव र दहितमाथि लागेको छ । दुवै मन्त्रीमाथि आर्थिक चलखेल गरेको र पार्टीमा सल्लाह नगरी आफूखुसी निर्णय गरेको आरोप पनि लागेको छ
पर्यटनमन्त्री देवले नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतम संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय तानेका थिए । देवले गौतमलाई हटाएर मोटो रकम लिई अर्का व्यक्तिलाई प्राधिकरणमा लान खोजेको भन्दै अध्यक्ष गच्छादार असन्तुष्ट बनेका थिए । स्रोतका अनुसार मन्त्री देवले बौद्धनाथ क्षेत्र विकास समिति र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा राजनीतिक नियुक्ति गर्दा चर्को रकम असुलेको सूचना पाएपछि गच्छदारले बोलाएर मौखिक स्पष्टीकरणसमेत सोधेका थिए ।
भूमिसुधारमन्त्री गोपाल दहितले भूमाफियासँग चर्को रहम असुलेर पार्टीलाई बदनाम गर्ने खालका निर्णय गरेको पार्टी नेताहरूको दाबी छ । दहित कार्यक्रममा पुगेका वेला दाङमा प्रमुख जिल्ला अधिकारीलाई सार्वजनिक स्थानमा दुव्र्यवहार गरेपछि आलोचित बनेका थिए । दहितले थरुहट पार्टीलाई लोकतान्त्रिक फोरममा विलय गराएर सहअध्यक्ष बनेका थिए ।