२० असोज, काठमाण्डौ । राष्ट्रिय जनता पार्टीका नेता राजेन्द्र महतोले मधेश केन्द्रित पार्टीहरु एकीकृत हुने क्रममा संघिय समाजवादी फोरम पनि एक ठाउँमा आएको बताएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता महतोले चुनावका लागि फोरमसँग गठबन्धन गरिएको जानकारी दिदै राजपा र फोरम प्रदेश र प्रतिनिधिसभाको निर्वाचनमा साझा उम्मेदवार दिने सहमति गरएको बताए ।
“प्राकृतिक, स्वभाविक, आवश्यक र जनताको भावनाअनुसार गठबन्धन हो ।” नेता महतोले भने ।
वाम गठबन्धन हुँदा लोकतान्त्रिक गठबन्धन पनि आवश्यक रहेको बताउँदै महतोले निर्वाचनका लागि मधेशमा स्वभाविक रुपमा मधेश केन्द्रित दलबिचमा तालमेल गरिएको बताए ।
फोरमसँगको सहमतिले लोकतान्त्रिक गठबन्धनमा बस्ने आधार समाप्त नभएको भन्दै महतोले आफुहरु लोकतन्त्रवादी भएको उक्त गठबन्धनसँग नजिक रहने बताए । “लोकतान्त्रिक गठबन्धनलाई बलियो पार्ने काम पनि हामी गछौँ ।” महतोले भने ।
फोरमसँगको सहकार्यलाई पुष्टी गर्दै महतोले भने “हिजो हामी सँगै लडेको हो । सँगै मरेको हो । एउटै विचार, एउटै सिद्धान्त छ । स्थानीय चुनाव अगाडि नै हामीले गठबन्धन गर्नुपथ्र्यो ।”
आवश्यकताको आधारमा लोकतान्त्रिक गठबन्धनमा रहेका दलसँग पनि गठबन्धन हुन सक्ने महतोको भनाई छ । नीति र सिद्धान्त निकट भएका जुनसुकै दलसँग पनि तालमेल गर्न सकिने महतोको तर्क छ । राजपा र फोरमले एक्ला एक्लै कुनै पनि दलसँग गठबन्धन नगर्ने सहमतिसमेत भएको महतोले जानकारी दिए ।
मधेशी जनताको अधिकारका लागि नै दुई दलबिच चुनावी तालमेल गर्ने सहमति गरिएको महतोका दाबी छ । गठबन्धनले संविधान संशोधनलाई सफल बनाउने उनको जिकिर छ ।