Logo

जनतालाई शासन होइन सेवा प्रदान गर्ने ध्येयका साथ कर्मचारीले काम गर्नुपर्ने : गृहमन्त्री शर्मा



काठमाडौँ, २१ असोज : गृहमन्त्री जनार्दन शर्माले जनतालाई शासन होइन सेवा प्रदान गर्ने ध्येयका साथ कर्मचारीले काम गर्नुपर्ने बताउनुभएको छ ।

नेपाल प्रशासन सेवाका पदाधिकारीका लागि कानून र न्यायसम्बन्धी तीनमहिने तालीम उद्घाटन गर्दै गृहमन्त्री शर्माले आजको कर्मचारीतन्त्र सेवाभावका साथ जनतामा समर्पित हुनुपर्ने बताउनुभयो ।

उहाँले विगतदेखि नै सरकारी सेवा झन्झटिलो हुँदै आएको जिकिर गर्दै त्यसलाई सहज बनाएर सामान्य जनताका समस्या समाधानतिर निजामती सेवा लाग्नुपर्नेमा जोड दिनुभयो । उहाँले भन्नुभयो, “फाइल यति गह्रुँगा छन् कि कतिपय कर्मचारीले उचाल्नै सक्दैनन्, तपाईँहरु दक्ष मात्र होइन इमान्दार हुन आवश्यक छ ।” तालीमका दौरान अनुत्तीर्ण हुनेलाई प्रजिअमा नियुक्त नगरिने उहाँले स्पष्ट पार्नुभयो ।

कार्यक्रममा कानून, न्याय तथा संसदीय मामिलामन्त्री यज्ञबहादुर थापाले मेहनतका साथ सबै विषयवस्तुमा दक्षता हासिल गर्न सहभागीलाई आग्रह गर्नुभयो । न्याय सेवा तालीम केन्द्रका प्रमुख कलानिधि पौड्यालले सकारात्मक सोचका साथ अनुशासित भएर तालीममा सहभागी हुन सहभागीलाई आग्रह गर्नुभयो । रासस



प्रतिक्रिया दिनुहोस्