Logo

व्यवस्थापिका संसदको म्याद १४ दिन मात्र बाँकी : त्यसपछि के हुन्छ ?



२२ असोज, काठमाण्डौ । पहिलो चरणको प्रत्यक्ष तर्फको मनोनयन कात्तिकै ५ मा हुने भएपछि कात्तिक ४ गतेबाटै संसदको म्याद सकिन्छ । संसदको म्याद सकिएपछि के हुन्छ भन्ने चासो धेरैमा छ । तर संविधानको कार्यान्वयनका क्रममा संसदको चुनावी प्रक्रिया अनुसार कात्तिक ५ गते संसदको पहिलो चरणको चुनावका लागि मनोनयन हुने भएकाले स्वतः त्यसअघि नै संसदको म्याद सकिने भएको हो ।
ब्यबस्थापिका संसदको म्याद १४ दिन मात्र बाँकी रहँदा त्यसपछि अन्यौल हुने हो कि भन्ने चिन्ता धेरैमा देखिएको छ । तर संवैधानिक रुपमा ठूलो संकट भने होइन । चुनावी प्रक्रिया अवधिभर संसद नरहे पनि चुनावी नतिजापश्चास नयाँ संसद गठन हुने भएकाले केही समयको रिक्ततालाई ठूलो इस्यु मान्नुपर्ने अवस्था छैन । यद्यपी कात्तिक ५ बाट हालको संसदले कुनै पनि काम गर्न पाउने छैन ।
निर्वाचन कार्यक्रम अनुसार दलहरुले असोज २९ मै समानुपातिक तर्फका उम्मेदवारको बन्द सुची बुझाउनुपर्नेछ भने कात्तिक ५ मा प्रत्यक्षतर्फको मनोनयन गर्नुपर्ने छ । संविधानले वर्तमान संसदको म्याद नयाँ संसदको निर्वाचनका लागि मनोनयन हुने अघिल्लै दिन सकिने व्यवस्था गरेको छ ।
यस्तो छ निर्वाचन कार्यतालिका
निर्वाचन कार्यतालिकाअनुसार पहिलो चरणमा निर्वाचन हुने ३२ जिल्लाका लागि कात्तिक ५ गते नै मनोनयन हुनेछ । पहिलो चरण मंसिर १० गते हिमाली र उच्च पहाडी जिल्लामा चुनाव हुनेछ ।
जसमा प्रदेश नम्बर १ का सोलुखुम्बु, संखुवासभा, भोजपुर, ओखलढुङ्गा, ताप्लेजुङ, पाँचथर र खोटाङ छन् भने प्रदेश नम्बर ३ का नुवाकोट, रसुवा, धादिङ, सिन्धुपाल्चोक, दोलखा र रामेछाप छन् ।
प्रदेश नम्बर ४ का मुस्ताङ, म्याग्दी, बाग्लुङ, मनाङ, लमजुङ र गोरखामा मंसिर १० मै निर्वाचन हुनेछ भने प्रदेश नंम्बर ५ का रूकुम पूर्वी र रोल्पा तथा प्रदेश नंम्बर ६ का रूकुम पश्चिम भाग, जाजरकोट, हुम्ला, मुगु, जुम्ला, कालिकोट र डोल्पामा पनि सोही दिन चुनाव हुनेछ । प्रदेश नम्बर ७ का दार्चुला, बझाङ, बाजुरा र वैतडीमा पनि मंसिर १० मै निर्वाचन हुनेछ । यी ३२ जिल्लाका लागि कात्तिक ५ गते उम्मेदवारको मनोनयन, ८ गते उम्मेदवारको अन्तिम नामावली प्रकाशन र निर्वाचन चिह्न प्रदान गरिनेछ ।

कात्तिक ८ देखि मंसिर ८ सम्म उम्मेदवारले निर्वाचन प्रचार प्रसार गर्नेछन् भने मंसिर १० गते बिहान ७ देखि बेलुका ५ बजे सम्म मतदान हुनेछ । अहिले राजनीतिक दलहरुभित्र पहिलो चरणको निर्वाचनको मनोनयनको समय केही पर सार्ने बहस भएपनि निर्वाचन आयोगले भने निर्वाचन कार्यक्रममा हेरफेर हुन नसक्ने प्रष्ट गरेको छ ।
निर्वाचन आयोगले पहिलो चरणसँगै दोस्रो चरणको चुनावको तयारी तीब्र पारेको छ । दोस्रो चरणको निर्वाचन ४५ जिल्लामा मंसिर २१ गते हुनेछ । जसका लागि कात्तिक १६ गते मनोनयन दर्ता गरिनेछ ।

प्रदेश नम्बर १ का इलाम, तेह्रथुम, धनकुटा, उदयपुर, झापा, मोरङ र सुनसरी, प्रदेश नम्बर २ का आठै जिल्ला, सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, बारा, पर्सा र रौतहट रहेका छन् । यस्तै प्रदेश नम्बर ३ का सिन्धुली, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक, काठमाडौं, ललितपुर र भक्तपुरमा मंसिर २१ मा निर्वाचन हुनेछ ।

त्यस्तै प्रदेश नम्बर ४ का नवलपरासी (बर्दघाट सुस्ता पूर्व) तनँहु, कास्की, स्याङ्जा र पर्वत प्रदेश नम्बर ५ का नवलपरासी (बर्दघाट सुस्ता पश्चिम), पाल्पा, अर्घाखाँची, गुल्मी, रूपन्देही, कपिलवस्तु, दाङ, प्युठान बाँके र बर्दिया जिल्ला छन् । प्रदेश नंम्बर ६ का सल्यान, सुर्खेत र दैलेखसहित ७ नम्बर प्रदेशका कैलाली, कन्चनपुर, डडेल्धुरा, अछाम र डोटीमा पनि मंसिर २१ मै निर्वाचन हुनेछ ।

यी सबै जिल्लाका लागि कात्तिक १६ मा मनोनयन दर्ता गरेर कात्तिक १९ मा अन्तिम नामावली प्रकाशन गरिनेछ भने सोही दिन उम्मेदवारलाई निर्वाचन चिह्न प्रदान गरिनेछ । १९ देखि मंसिर १९ सम्म उम्मेदवारले प्रचार प्रसार गर्न पाउने छन् । मंसिर २१ गते बिहान ७ देखि बेलुकी ५ बजेसम्म मतदाताले प्रतिनिधि चुन्न मतदान गर्नेछन् ।
मतदान सकिएलगत्तै मतगणना र त्यसपछि संसदमा को को विजयी भन्ने सार्वजनिक हुनेछ ।



प्रतिक्रिया दिनुहोस्