२२ असोज, काठमाण्डौ । राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई समर्थन गर्दै सरकारमा सहभागि हुने भएको छ । राप्रपाको आज बसेको शीर्ष नेताहरुको बैठकले सरकारमा सहभागि हुने निर्णय गरिएको बैठकमा सहभागि एक नेताले रिपोर्टस क्लब नेपाललाई जानकारी दिए ।
उनले भने सरकारलाई समर्थन गरेको पत्र तयार हुँदैछ । प्रधानमन्त्रीलाई भेटेपछि अन्तिम टुङ्गो लाग्छ ।
। राप्रपा सरकरामा जाने निश्चित जस्तै भइसकेको र कमल थापालाई गृहमन्त्री बनाउन प्रधानमन्त्री शेरबहादुर देउवा सकारात्मक रहेको दाबी गरिएको छ । गृहमन्त्रालयसहित पाँच मन्त्रालय राप्रपाले पाउने भएको छ ।
त्यस्तै राप्रपालाई चुनावी तालेमलमा प्रत्यक्षतर्फ सात सिट दिनसमेत कांग्रेस तयार भइसकेको छ । समानुपातिकतर्फ भने पछि कुरा मिलाउने सहमति भएको छ ।
यसअघि संविधान संशोधनको मुद्दामा दुई कित्तामा उभिएका कांग्रेस र राप्रपा नयाँ राजनीतिक गठबन्धनसँगै पुनः एक ठाउँमा उभिएका छन् ।
प्रधानमन्त्री शेरबहादुर देउवा प्रधानमन्त्री निर्वाचित हुने बेलामा देउवालाई मतदान गरेका कमल थापा पछि पार्टी फुटेसँगै चिढिएका थिए । पशुपति शमशेर राणाले पार्टी परित्याग गरेर नयाँ दल दर्ता गराएपछि कमल थापाले त्यसको दोष देउवालाई समेत लगाएका थिए । सरकारले नै आफ्नो पार्टी फुटाएको आशंकामा कमल थापाले संविधान संशोधनको प्रस्तावको विपक्षमा मतदान गरेका थिए ।
तर वाम एकताको प्रक्रिया सुरु भएसँगै लोकतान्त्रिक गठबन्धन निर्माणको अभियानका क्रममा कांग्रेस र राप्रपा पुनः नजिकिएका हुन् ।