Logo

गोरखामा चुनाव लड्न नपाए गठबन्धन छोड्ने बाबुरामको मनस्थिती



२६ असोज, काठमाडौं । वाम गठबन्धनभित्र फाटो आउने निश्चित जस्तै भएको छ ।
नयाँ शक्ति पार्टीका संयाजक डा.बाबुराम भट्टराई गोरखाबाटै चुनाव लड्ने अडान लिएपछि नयाँ शक्तिले गठबन्धन छोड्ने सम्भावना बढेर गएको हो । माओवादीले भने बाबुरामलाई गोरखा क्षेत्र नम्बर २ मा नारायणकाजी श्रेष्ठलाई उठाउने अडान लिएको छ । गोरखामा प्रतिनिधिसभाका दुवै सिट माओवादीले बाबुरामलाई नछाड्ने अडान राखिरहेका बेला बाबुरामले गोरखा नछाड्ने प्रष्ट पारेका हुन् ।

एमालेको सूर्य चिन्ह लिएर उम्मेदवार बन्न लागेका बाबुरामलाई माओवादीले रोक्न खोजेपछि सिट बाँडफाँड गर्न गठित कार्यदलमा समस्या भएको छ ।

बाबुरामले गोरखा १ वा २ बाट चुनाव लड्ने बताएका छन् । माओवादीले गोरखा २ मा नारायणकाजी श्रेष्ठ उठाउने अडान लिएपछि बाबुराम १ मा भने पनि लड्न तयार थिए । उनी २०७० पनि गोरखा १ बाटै जितेका हुन् । तर, माओवादीले गोरखाका दुवै सिट नछाड्ने बताएको छ ।

गठबन्धनमा सम्मानजनक सहमति नुहने अवस्थामा नयाँ शक्ति गठबन्धनमा नहरने अवस्था सृजना हुनेछ ।

यसैबीच कार्यदलमा नयाँशक्तिले प्रतिनिधिसभातर्फ समानुपातिक र प्रत्यक्ष गरी १५ सिटको अडान राखेको छ । नयाँशक्तिले खोटाङ, सिन्धुली, सप्तरी, रसुवा, ललितपुर, मकवानपुर, गोरखा, कपिलवस्तु, कैलाली लगायतका जिल्लामा प्रतिनिधिसभाको सिट दावी गरेको छ ।
तर एमाले र माओवादीले भने नयाँ शक्तिले भनेजस्तो १५ सिट दिन नसकिने बताएका छन् ।



प्रतिक्रिया दिनुहोस्