Logo

परराष्ट्रमन्त्री महरासँग आइटिसीका कार्यकारी निर्देशकको भेट



काठमाडौँ, २६ असोज : उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महरासँग जेनेभास्थित अन्तर्राष्ट्रिय व्यापार केन्द्र (आइटिसी)का कार्यकारी निर्देशक अरान्चा गोन्जालेजले आज शिष्टाचार भेट गर्नुभएको छ ।

परराष्ट्र मन्त्रालयमा आज भएको भेटवार्तामा उहाँहरुबीच आर्थिक कूटनीति तथा बहुपक्षीय व्यापार प्रवद्र्धन लगायतका विषयमा छलफल भयो । सो अवसरमा परराष्ट्रमन्त्री महराले नेपालको निकासी प्रवद्र्धनमा आइटिसीले सकारात्मक भूमिका निर्वाह गरेको भन्दै त्यसलाई अझै प्रभावकारी बनाउन आग्रह गर्नुभयो ।

नेपाली घरेलु उत्पादनको अन्तर्राष्ट्रिय ‘ब्रान्डिङ’मा आइटिसीले थप सहयोग गर्ने विश्वास व्यक्त गर्दै उहाँले नेपाल राजनीतिक स्थिरतातर्फ अगाडि बढेकाले सबैको ध्यान आर्थिक समृद्धिको प्राप्ति भएको स्पष्ट पार्नुभयो ।

उपप्रधानमन्त्री महराले भन्नुभयो, “नेपालको संघीय गणतन्त्रलाई संस्थागत गर्ने निर्वाचनहरु चरणबद्धरुपमा अगाडि बढेका छन् । सबै निर्वाचन सम्पन्न भएपछि मुलुकमा स्थायित्व कायम भई नेपाल द्रुत आर्थिक विकासको दिशामा अगाडि बढ्छ ।”

सो अवसरमा कार्यकारी निर्देशक गोन्जालेजले नेपालमा आर्थिक विकास तथा व्यापारको अपार सम्भावना भएको बताउँदै उत्पादन, ब्रान्डिङ र बजारीकरणमा ध्यान दिनुपर्ने बताउनुभयो । कफी, चिया, अलैँची एवम् नेपाली कागज जस्ता नेपाली उत्पादन अन्तर्राष्ट्रिय बजारका लागि महत्वपूर्ण वस्तु भएको भन्दै उहाँले ठूलो मात्रामा उत्पादन तथा गुणस्तरमा ध्यान दिनुपर्ने बताउनुभयो ।

आर्थिक कूटनीतिका माध्यमबाट नेपालका उत्पादनहरु विश्व बजारमा प्रवद्र्धन गर्न सकिने विचार व्यक्त गर्दै उहाँले परराष्ट्र मन्त्रालयले परम्परागत कूटनीतिभन्दा पनि आफ्ना नियोगमार्फत व्यापार र लगानी प्रवद्र्धनमा विशेष जोड दिनुपर्ने बताउनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्