Logo

झापादेखि कञ्चनपुरसम्म ६० प्रतिशत नदिए कांग्रेससँग चुनावी तालमेल हुँदैन् : कर्ण



काठमाडौं, ३० असोज । राजपा नेपालका नेता लक्ष्मणलाल कर्णले कांग्रेसले झापादेखि कञ्चनपुरसम्म आफूहरुलाई ६० प्रतिशत सिट नदिए चुनावी तालमेल नहुने स्पष्ट पारेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै उनले भने,‘हामी राजपा नेपाल र संघीय समाजवादी फोरम नेपालवीच गठबन्धन बनेको छ, त्यसैले हामीले चुनावमा जाँदा झापादेखि कञ्चनपुरसम्म कांग्रेसभन्दा बढि नै सिट माँगेका छौं।’ उनले कम्तिमा ५० देखि ६० प्रतिशत आफूहरुको गठबन्धनलाई दिएमात्रै कांग्रेससँग चुनावी तालमेल हुने जिकिर गरेका हुन् । उनले यदि आफूहरुले माँगेजतिको प्रतिशतमा सहमति नभए कांग्रेससँग स्वस्थ चुनावी प्रतिष्पर्धा हुने विश्वास दिलाए ।

नेता कर्णले तोकिएकै मितिमा चुनाव हुने भन्दै चुनाव हुँदैन कि भनेर आशंका नगर्न आग्रह समेत गरे । उनले भने,‘चुनाव हुन्छ, यदि चुनाव भएन भने देश सामान्य अवस्थामा रहन सक्दैन्, त्यसैले तोकिएकै समयमा निर्वाचन हुन्छ, यसमा कसैले शंका गर्नुहुदैन्।’

त्यस्तै उनले आफ्ना पार्टीका शीर्ष नेताहरुले पनि चुनाव लड्ने जानकारी दिए । उनले थपे,‘हाम्रा पार्टीका शीर्ष नेताहरु पनि चुनाव लड्नुहुन्छ, उहाँहरु चुनाव लड्नुहुन्छ, म स्वयम पनि पर्सा क्षेत्र नम्बर ४ बाट चुनाव लड्दैछु।’

उनले चुनावलाई आफूहरुले आन्दोलनकै रुपमा उपयोग गरिरहेको स्पष्ट पारे । उनले भने,‘हाम्रा माँगहरु पूरा गर्नको लागि हमेसा बाटो तताउन नपरोस भनेर नै हामी चुनावमा होमिएका हौं, अहिले पनि हामीले चुनावलाई संघर्षकै रुपमा उपयोग गरिरहेका छौं।’

नेता कर्णले वामपन्थी गठबन्धन बन्नु कुनै नौलो कुरा नभएको बताए । उनले थपे,‘थ्रेस होल्डले गर्दा पार्टीहरु मिल्न बाध्य भएका छन्, विचार मिल्नेहरुवीच साझेदारी हुनु खुशीको कुरा हो।’



प्रतिक्रिया दिनुहोस्