Logo

हामी दुई तिहाईको सरकार बनाउँछौं, कम्युनिष्ट शासन ल्याउँदैनौं : भीम आचार्य



काठमाण्डौं, ३० असोज । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सचिव भीम आचार्यले वाम एकताबाट नडराउन काँग्रेसलाई आग्रह गरेका छन् ।

सोमबार रिपोर्टर्स क्लब नेपालले आयोजना गरेको साक्षात्कारमा बोल्दै वाम एकताले राजनीतिक स्थायित्व हाँसिल हुने दाबी गर्दै सचिव आचार्यले लोकतान्त्रिक मुल्य र मान्यताका आधारमा मुलुकको विकास गर्ने लक्ष्यसहित आफ्नो पार्टी अघि बढिरहेको विश्वास दिलाए ।

क्लबका सभापति ऋषि धमलाको सभापतित्वमा आयोजित साक्षात्कारमा बहुदलीय जनवादमा पुग्ने नेपालका कम्युनिष्टहरुको एउटै बाटो भएको भन्दै सोही अनुरुप एमाले र माओवादीबीच एकताको बहस सुरु भएको उनको भनाई थियो ।

उनले भने,‘नेपालका सबै कम्युनिष्टहरुको बाटो, लक्ष्य एउटै हो, बहुदलीय जनवादको लक्ष्यमा पुग्नको लागि नेपालका सबै कम्यूनिष्टहरु एकजुट हुनुपर्छ, ५ वर्षभित्र एमालेको नेतृत्वमा मुलुक विकासको पथमा हिँड्छ, त्यो समयमा एमाले पार्टी जनताको पक्षमा काम गर्यो भने, फेरी जनताले पत्याउँछन्, नत्रभने जनताले बहिष्कार गर्छन।’ उनले आफूहरुको वाम गठबन्धनले दुई तिहाई मत ल्याउने र सरकार बनाउने समेत दाबी गरे ।

उनले नेपालमा कम्युनिष्ट शासन सम्भव नभएको भन्दै लोकतान्त्रिक प्राणालीबाट मुलुकलाई समृद्धि बनाउनेमा एमाले कटिबद्ध रहेको विश्वास दिलाए ।

 



प्रतिक्रिया दिनुहोस्