बागलुङ, ३१ असोज : मानवसेवा आश्रम, बागलुङ शाखालाई नेपाली सेनाको अर्जुनवाण गणका गणपति प्रमुख सेनानी अच्युतम भण्डारीले रु ५० हजार व्यक्तिगत सहयोग प्रदान गर्नुृभएको छ ।
सोमबार प्रमुख सेनानी भण्डारीले सहयोग रकमको चेक आश्रमका अध्यक्ष मनिष रायमाझीलाई हस्तान्तरण गर्नुभयो । सोही अवसरमा अर्जुनवाण गणको तर्फबाट आश्रमलाई खाद्यान्न लगायतका सामग्री समेत प्रदान गरिएको थियो ।
सहयोग हस्तान्तरणपछि प्रमुख सेनानी भण्डारीले मानिसले अरुका लागि बाँच्न सक्नुपर्ने धारणा राख्नुभयो । ‘मानवीय सेवा नै सार्थक जीवनको कडी हो’, प्रमुख सेनानी भण्डारीले भन्नुभयो, “आफ्ना लागि सबै बाँचेकै हुन्छन्, अरुका लागि बाँच्नु ठूलो कुरा हो ।” उहाँले देश र नागरिकको हितमा जस्तोसुकै काम गर्न पनि नेपाली सेना तयार रहेको बताउनुभयो ।
सेनाले आफ्नो मूल दायित्वका अतिरिक्त मानवीय सेवाका क्षेत्रमा सधँै काम गर्दै आएको उहाँको भनाइ थियो ।
उहाँले विभिन्न कारणले सडकमा दुःखको दैनिकी काटिरहेका मानिसलाई सहारा दिएर आश्रमले उदाहरणीय काम गरेको प्रतिक्रिया दिनुभयो । आश्रमका अध्यक्ष मनिष रायमाझीले आश्रम स्थापनाको चरणदेखि नै नेपाली सेनाले सहयोग गर्दै आएको स्मरण गर्नुभयो ।
गतवर्ष स्थापना भएको आश्रममा अहिले बालबालिकादेखि ज्येष्ठ नागरिकसम्म १८ जनाले आश्रय लिएका छन् । सडक पेटीमा जीवन गुजारिरहेका सहाराविहीन व्यक्तिको जीवनयापनमा सघाउन आश्रम स्थापना गरिएको हो । आश्रममा रहेका अधिकांश व्यक्तिमा मानसिक समस्या देखिएको आश्रम व्यवस्थापनले जनाएको छ ।
खानपान, आवास, औषधोपचार, मनोरञ्जन लगायतका सेवा आश्रमभित्रै उपलब्ध गराउने गरिएको छ । शारीरिक र मानसिकरुपमा अशक्त, मनोरोगी, अनाथ, अपांगता भएर सडकमा अलपत्र परेका व्यक्तिलाई उद्धार गरी आश्रममा राख्ने गरिएको छ । (रासस)