Logo

बर्दिवास क्याम्पस सहयोगार्थ महायज्ञ हुने



बर्दिवास, ८ कात्तिक (रासस) : महोत्तरीको बर्दिवासस्थित बर्दिवास जनता बहुमुखी क्याम्पस, बर्दिवासको भवन निर्माण र शैक्षिक विकासमा सहयोगार्थ श्रीमद्भागवत महायज्ञ आयोजना गरिने भएको छ ।

मंगलबार बर्दिवासमा क्याम्पस व्यवस्थापन समितिले आयोजना गरेको बृहत् सर्वपक्षीय भेलाले क्याम्पसको भौतिक र शैक्षिक विकासमा सहयोगार्थ श्रीमद्भागवत महायज्ञ आयोजना गर्ने निर्णय गरेको हो ।

क्याम्पस प्राज्ञसभाका पदाधिकारी एवं सदस्य, बर्दिवास नगरपालिकाका प्रमुख र पदाधिकारी, राजनीतिक दलका प्रतिनिधि, बर्दिवास उद्योग वाणिज्य संघ, व्यापार र अन्य पेशागत संघ संगठनका पदाधिकारीसहित सर्वसाधारणको उपस्थितिको सर्वपक्षीय बैठकले महायज्ञ आयोजन गर्ने क्याम्पस व्यवस्थापन समितिको पूर्वनिर्णय अनुमोदन गर्दै महायज्ञ आयोजक मूल समारोह समिति नै चयन गरेर तयारी अघि बढाउने निर्णय गरेको क्याम्पस प्रमुख तोपबहादुर ठकुरीले जानकारी दिनुभयो ।

यसअघि व्यवस्थापन समितिले वाचन प्रवीण पण्डित दिनबन्धु पोखरेलसँग समन्वय गरेर महायज्ञ सञ्चालनको मिति तय गरेको थियो ।

वाचन प्रवीण पण्डित पोखरेलले भागवत पाठपारायण र कथा वाचन गर्ने महायज्ञ यही कात्तिक २७ गतेदेखि मंसिर ४ गतेसम्म सञ्चालन हुने तय भएको छ ।

यस प्रयोजनका लागि क्याम्पस व्यवस्थापन समितिका अध्यक्ष गुञ्ज खड्काको संयोजकत्वमा गठन गरिएको ५०१ सदस्यीय महायज्ञ मूल समारोह समितिअन्तर्गत ११ वटा उपसमिति गठन गरिएका छन् ।

पण्डित पोखरेलले सञ्चालन गर्ने संगीतमय श्रीमद्भागवत महायज्ञको सफलताका लागि समाजका सबैपक्षसँग सहयोगको अपिल गरिएको क्याम्पस प्रमुख ठकुरीले जानकारी दिनुभयो ।

विसं २०६४ मा स्थापित बर्दिवास जनता बहुमुखी क्याम्पस बर्दिवासमा शिक्षा शास्त्र र वाणिज्य संकायमा स्नातक तहको पठनपाठन हुँदै आएको र अब स्नातकोत्तर तहको पठनपाठन सञ्चालन गर्ने सम्बन्धनका लागि प्रक्रिया अघि बढेको क्याम्पस प्रशासनले जनाएको छ ।

क्याम्पसमा अहिले स्नातक तहमा ५०० विद्यार्थी रहेका छन् । क्याम्पस स्थापनायताका १० वर्षमा यस क्याम्पसबाट ४५० जनाले स्नातक तह उत्तीर्ण गरिसकेका क्याम्पस प्रमुख ठकुरीले बताउनुभयो ।



प्रतिक्रिया दिनुहोस्