काठमाडौं, ११ कार्तिक । दूरसंचार सेवाप्रदायक कम्पनी स्मार्ट सेलले भोलिदेखि फोरजी सेवा सुरु गर्ने भएको छ।
तत्कालको लागि काठमाडौं उपत्यका र पोखराबाट सेवा सुरु गर्न लागिएको स्मार्टका प्रशासकीय अधिकृत सजिन राजभण्डारीले जानकारी दिए।
प्राविधिकरुपमा सबै तयारी पुरा भएपनि अझै परीक्षणकै क्रममा भएकोले देशका अन्य सहरमा सेवा विस्तारको लागि केही समय लाग्ने स्मार्टले जानकारी दिएको छ।
भोलीदेखि काठमाडौं र पोखरामा सुरु हुने सेवा पनि परीक्षणकै क्रममा हुने र त्यसपपछि यी ठाउँसहित नेपालगंज, चितवन र विरगंजमा एकसाथ व्यवसायिकरुपमा सुरु गरिने राजभण्डारीले जानकारी दिए।
१८ सय मेगाहर्ज ब्यान्डमा १० मेगाहर्ज फ्रिक्वेन्सीमार्फत फोरजी संचालन गर्ने भएको छ। उक्त ब्यान्डमा १२ मेगाहर्ज फ्रिक्वेन्सी भएको कम्पनीले गएको जेठमा नियमक निकाय दूरसंचार प्राधिकरणबाट प्रविधि तटस्थतताको अनुमति पाएको थियो।
सन् २००८ मा पश्चिमाचंल विकास क्षेत्रबाट सिमित क्षेत्रको जिएसएम सेवाबाट सेवा सुरु गरेको स्मार्टले सन् २०१३ मा युनिफाइड अनुमति पाएको थियो।
त्यस्तै कम्पनीले दिएको जानकारी अनुसार परीक्षणको रुपमामात्र कात्तिक १२ देखि सुरु हुने स्मार्टको फोरजीको गति हालसम्मकै द्रुत गतिको मोबाइल इन्टरनेट उपलब्ध गराउने कम्पनीले दावी गरेको छ।
कम्पनीका अनुसार ७० एमबीपिएससम्मको गति उपलब्ध गराउन सक्नेगरी प्रविधि तयार पारिएको छ। फोरजी सेवा सुरु गरेको अवसरमा कम्पनीले एकमहिनाको लागि भाइबर, ह्वाट्स एपमा निशुलक कलको सुविधा, तीसदिनको लागि २३५ रुपैयाँमा एक जिबी डाटा उपलब्ध गराउने बताएको छ।
त्यस्तै स्मार्टले नेपालमै पहिलोपटक एक सेकेन्डको अवधिमा शूल्क निर्धारण गरेको छ। एक सेकेन्ड कल गर्दा एक पैसामात्र शुल्क लाग्ने कम्पनीले जानकारी दिएको छ।
तस्विर : मुकुन्द कालिकोटे