Logo

पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा जोड



काठमाडौँ, १३ कात्तिक  : मुलुकको अर्थतन्त्रको दरिलो आधारका रुपमा रहेको पर्यटन प्रवद्र्धनका लागि एकताबद्ध ढंगले लाग्नुपर्नेमा सरोकार भएका निकायले जोड दिएका छन् ।

होटल एशोसिएसन अफ नेपाल (हान)ले आज यहाँ आयोजना गरेको ‘दिगो अर्थतन्त्रको आधार पर्यटन उद्योगको विकास’ विषयक अन्तक्र्रियाका वक्ताले अथाह सम्भावना बोकेको प्राकृतिक सम्पदाका विविध आयामलाई पर्यटन उद्योगसँग जोडेर लैजानुपर्ने खाँचो औँल्याए ।

नेपाली काँग्रेसका नेता डा प्रकाशशरण महतले पर्यटनले मात्रै मुलुकको आर्थिक समृद्धि सम्भव भएकाले प्राकृतिक सम्पदाको उपयोग गरी पर्यटन प्रवद्र्धन गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले पर्यटनलगायत आर्थिक विकासका एजेण्डा समेटिएको १० वर्षे भिजनसहित काँग्रेसले चुनावी घोषणापत्र ल्याउने बताउनुभयो ।

नेकपा (माओवादी केन्द्र) का नेता लीलामणि पोखरेलले कम लगानीमा चाँडो प्रतिफल दिने पर्यटनको माध्यमबाट नै मुलुकको आर्थिक समृद्धि सम्भव हुने बताउनुभयो । उहाँले पर्यटन उद्योगको प्रवद्र्धन गर्ने योजनाबद्ध कार्यक्रमसहित आफ्नो पार्टीले चुनावी घोषणापत्र ल्याउने जानकारी दिनुभयो ।

नेकपा (एमाले) पर्यटन विभाग प्रमुख सूर्य थापाले राजनीतिक अस्थिरतासँगै चाँडो मन्त्री र सचिव फेरिने प्रवृत्तिले पर्यटन क्षेत्रको विकास प्रभावकारी हुन नसकेको भन्दै नीतिगत सुधारका साथ काम अघि बढाइनुपर्छ भन्नुभयो । उहाँले सार्वजनिक निजी साझेदारीकोे अवधारणलाई बृहत्तर बनाई पर्यटन प्रवद्र्धनमा सम्पूर्ण शक्ति खर्चिनुपर्नेमा जोड दिनुभयो ।

नेपाल वायु सेवा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारले विदेशी पर्यटकलाई आकर्षण गर्न सरकारले अन्तर्राष्ट्रिय बजारीकरणका लागि लगानी बढाउनुपर्ने धारणा राख्नुभयो ।

पूर्व पर्यटन सचिव दीपेन्द्रपुरुष ढकालले राजनीतिक अस्थिरताकै कारण पर्यटन क्षेत्रले अपेक्षित गति लिन नसकेको भन्दै पुराना ऐन कानून समयसापेक्ष परिमार्जन गरिनुपर्ने बताउनुभयो ।

कार्यक्रममा नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले पर्यटकीय पूर्वाधारमा लगानी बढाई गुणस्तरीय पर्यटक भित्र्याउनेतर्फ सबैको ध्यान जानुपर्ने बताउनुभयो ।

हानका अध्यक्ष अमरमान शाक्य, नेपाल एशोसिएसन अफ ट्राभल एन्ड टुर एजेन्टस् (नाट्टा) का अध्यक्ष मधुसूधन आचार्य, नेपाल एशोसिएसन अफ ¥याफ्टिङ एजेन्सिज (नारा) का अध्यक्ष निमबहादुर मगरले पर्यटन क्षेत्रको एकीकृत विकासमा सरकार र निजी क्षेत्रका साझेदारीलाई अझ प्रभावकारी बनाइनुपर्नेमा जोड दिनुभयो । (रासस)



प्रतिक्रिया दिनुहोस्