Logo

रौतहट ४ का एमाले उम्मेदवार वंशिधर मिश्रले धमलालाई भने, “मेरो तर्फबाट तपाईलाई स्वागत छ, आउनुस्”



कात्तिक १४, काठमाण्डौ । नेकपा एमालेका नेता वंशिधर मिश्रले नेपाली कांग्रेसले एमालेलाई अतिवादीको संज्ञा दिएकोमा आपत्ति जनाएका छन् । नेपाली रेडियो नेटवर्कको कार्यक्रम नेपाली बहसमा कुरा गर्दै नेता मिश्रले चुनाव जित्न र भावना भड्काउनका लागि आफ्नै स्तर खस्किने गरी कांग्रेसले व्याख्या गरेको आरोप लगाए ।
वाम गठबन्धन निर्माणलाई कांग्रेसले लोकतन्त्रविरोध भन्नु गलत भएको भन्दै मिश्रले उक्त कुरा कल्पनासमेत गर्न नसकिने बताए ।
रौतहट क्षेत्र नम्बर ४ का उम्मेदवार मिश्रले मधेशको विकासमा नेपाली कांग्रेसले उपेक्षा गरेको आरोप लगाए । कांग्रेसले मधेशलाई भोट बैँकको रुपमा मात्रै प्रयोग गरेको मिश्रको आरोप छ ।
विकासको लागि सच्चै काम गर्ने र गफ हाँक्नेबिचको तुलना जनताले गर्ने बेला आएको मिश्रको तर्क छ ।
कांग्रेसले आफुसँग तालमेल गरेन भन्दैमा वामपन्थी गठबन्धनलाई लोकतान्त्रिक हुँदैनन् भनेर आरोप लगाउनु उचित नभएको मिश्रले बताए ।
कुराकानीका क्रममा फरक प्रसङ्ग कोट्याउँदै मिश्रले रौतहट चारबाट ऋषि धमला उम्मेदवार बन्ने चर्चा आएको बताउँदै चुनाव उठ्न सल्लाह दिए । वुद्धिजीवी पत्रकारको छवी बनाएको भन्दै मिश्रले धमलालाई भने, “तपाई आउनुभयो भने लोकतान्त्रिक अभ्यासमा पनि सजिलो हुन्छ । लोकतान्त्रिक प्रक्रियामा बल पुग्छ ।”
मिश्रले धमला रौतहट चारबाट चुनाव लड्ने अपेक्षा राखेको बताए । “मेरो तर्फबाट तपाईलाई स्वागत छ । आउनुस्, स्वस्थ प्रतिस्पर्धा गरौँ ।” मिश्रले भने ।



प्रतिक्रिया दिनुहोस्