६ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता रामबहादुर थापा (बादल) राष्ट्रिय सभा सदस्य बन्ने भएका छन् ।
चितवनबाट प्रतिनिधीसभातर्फ प्रत्यक्ष चुनाल लड्ने इच्छा देखाएका बादल वाम गठबन्धनका कारण निर्वाचन क्षेत्र नै नपाएपछि राष्ट्रिय सभामा जाने भएका हुन् ।
बादलले चितवन क्षेत्रनम्बर २ मा प्रत्यक्ष तर्फको उम्मेदवार दावी गरेका थिए । एमालेले चितवन २ नछाड्ने अडान लिएपछि बादललाई काठमाडौं १० वा नवलपुर १ बाट उम्मेदवार बनाउने प्रयास माओवादीले गरेको थियो ।
तर बादलले गृहजिल्ला चितवन बाहेक अन्तबाट चुनाव नलड्ने बताएपछि उनको नाम प्रत्यक्ष तर्फका उम्मेदवारहरुको सूचीमा परेन । उनले प्रत्यक्ष तर्फ चुनाव लड्ने इच्छा देखाएपछि समानुपातिकको सूचीमा पनि नाम राखिएको थिएन । त्यसैले अब उनलाई राष्ट्रिय सभामा लैजाने माओवादीले आश्वासन दिएको छ ।
नेपालमा प्रतिनिधि सभा र राष्ट्रिय सभा नामका दुई सदन सहितको एक संघीय व्यवस्थापिका हुनेछ । राष्ट्रिय सभामा प्रत्येक प्रदेशबाट आठ–आठ जना चुनिएर आउँछन् भने सरकारको सिफारिसमा राष्ट्रपतिबाट तीन जना मनोनित हुन्छन् ।