१६ कात्तिक, काठमाडौं । बुधबार बढाइएको पेट्रोलियम पदार्थको मूल्य विहिबारदखि पुनः घट्ने भएको छ । नेपाल आयल निगमले बुधबार रातीदेखि लागु हुने गरी पेट्रोल, डिजेल, मट्टितेल र खाना पकाउने ग्यासको मूल्य बढाएको थियो । तर निर्वाचनको मुखमा आयल निगमले पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले बढाइएको मूल्य तत्काल फिर्ता गर्न निर्देशन दिएका हुन् ।
प्रधानमन्त्री देउवाले मूल्यवृद्धि तत्काल फिर्ता लिन निर्देशन दिएपछि विहीबार बिहानै आयल निगमको आकस्मिक बैठक बोलाइएको छ ।
निगमले नियमितरुपमा पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आइरहेको छ । यसैक्रममा बुधबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि गरिएको थियो ।
तर, प्रधानमन्त्रीको ठाडो निर्देशनपछि विहीबारदेखि पुरानै मुल्य कायम गर्निका लागि आकस्मिक बैठक बसिएको बताइएको छ ।
निगमले बुधबार पेट्रोल, डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँ वृद्धि गरेको थियो । एलपी ग्यासमा प्रति सिलिण्डर २५ रुपैयाँ बढाइएको थियो ।
प्रधानमन्त्री शेरबहादुर देउवाले आपूर्ति मन्त्री जयन्त चन्द र मुख्यसचिव लोकदर्शन रेग्मीलाई सम्पर्क गरेर चुनावका बेलामा मूल्यवृद्धि नगर्न र तत्काल निर्णय फिर्ता लिन निर्देशन दिएका हुन् ।
मूल्य घटाउने प्रधानमन्त्रीको निर्देशनले निगमलाई २२ करोड घाटा हुने निगमले दाबी गरेको छ ।