Logo

सुर्खेत क्षेत्र नम्बर २ मा थानी भर्सेज रावत, यस्तो छ अनुमान



काठमाडौं, १९ कार्तिक । नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री हृदयराम थानी चार पटक निर्वाचन लडे । दुई पटक जिते, दुई पटक हारे । उनको दुवै जीतमा एमाले पार्टी विभाजन र पार्टीभित्रैबाट भएको अन्तरघात प्रमुख कारण बनेको थियो ।

२०५१ को मद्यावधि निर्वाचनयता उनी लगातार सुर्खेत क्षेत्र नं २ बाट निर्वाचन लड्दै आएका छन् । ०५१ मा थानी एमालेका यामलाल कंडेलसँग १२९२ मतअन्तरले पराजित भएका थिए ।

२०५६ को संसदीय निर्वाचनमा भने एमालेका शिवप्रसाद उपाध्यायलाइ १०७९ मतअन्तरले पराजित गर्दै थानी विजयी भए । उक्त निर्वाचनका बेला एमाले पार्टी विभाजित थियो ।

अघिल्लो निर्वाचनमा एमालेबाट विजयी भएका यामलाल कंडेल यो निर्वाचनमा मालेबाट लडेका थिए । उनले १९३६ मत प्राप्त गरेका थिए । एमाले विभाजनको फाइदा थानीलाई भयो । सम्भवत एमाले विभाजन नभएको भए थानीको जीत सहज थिएन ।

एमालेका उपाध्याय र मालेका कंडेलले पाएको मत जोड्दा थानीले पाएको भन्दा ८५७ ले बढी हुन आउँछ । जे होस् एमाले विभाजनको फाइदा थानीलाई भयो ।

त्यसपछि २०६४ को संविधानसभा निर्वाचनमा भने एमालेबाट उम्मेदवार बनेका यामलाल कंडेलले पुनः थानीलाई १६०४ मतअन्तरले पराजित गरे ।

थानी र कंडेलको प्रतिस्पर्धा यति मै रोकिएन । २०७० को दोस्रो संविधानसभा निर्वाचनमा पुनः यी दुई व्यक्ति चुनावी प्रतिस्पर्धामा उत्रिए । त्यसबेला थानीले बाजी मारे ।

थानीले १७४१९ मत ल्याउँदा कंडेल ९११८ मतमा सीमित भए । त्यो निर्वाचनमा पनि थानीलाई एमालेभित्रको अन्तरद्धन्द्धले फाइदा पुर्यायो । कंडेल विरुद्ध एमालेकै शिवप्रसाद उपाध्यायले बागी उम्मेदवारी दिएका थिए । उपाध्यायले ४५६५ मत प्राप्त गरेका थिए ।

आगामी मंसिर २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस केन्द्रीय सदस्य तथा पूर्वमन्त्री थानी पुनः सुर्खेत क्षेत्र नम्बर २ बाट उम्मेदवार बनेका छन् । यस पटक उनीसँग प्रतिस्पर्धा गर्दैछन् वाम गठबन्धनका तर्फबाट एमालेका नेता नवराज रावत ।

रावत यस अघि सुर्खेत क्षेत्र नम्बर ३ बाट निर्वाचन लड्दै आएका थिए भने यस पटक जिल्लामा दुई वटा मात्र निर्वाचन क्षेत्र भएपछि थानीसँग प्रतिस्पर्धा गर्न आइपुगेका छन् ।

दुवै पटक एमाले भित्रको समस्याको बलमा निर्वाचन जितेका थानीलाई यस पटक भने विगतको जस्तो सजिलो छैन । त्यसमाथि पनि विगतको क्षेत्र नम्बर २ को अधिकांश भाग अहिलेको क्षेत्रमा छैन । विगतको क्षेत्र नम्बर ३ को ठूलो भाग र वीरेन्द्रनगर नगरपालिकाका १४ वटा वडा मिलेर क्षेत्र नम्बर २ बनेको छ ।

स्थानीय तहको निर्वाचनमा पाएको मतलाई आधार मान्ने हो भने यो क्षेत्रमा कांग्रेसभन्दा वाम गठबन्धन झण्डै १० हजार मतअन्तरले अघि छ । त्यसैले थानीभन्दा रावत बलियो अवस्थामा देखिन्छन् ।

यद्यपी मतदाताको मन अनुमानका भरमा बुझ्न सकिदैन । वाम गठबन्धनसँग रहेको ठूलो मतअन्तरलाई आफ्नो पक्षमा पार्दै थानीले बाजी मार्लान् वा थानीलाई पराजित गर्दै रावतले पहिलो पटक सांसद बन्ने अवसर पाउलान् ? त्यो भने आगामी मंसिर २१ पछि नै थाहा हुनेछ ।

 



प्रतिक्रिया दिनुहोस्