Logo

प्रधानमन्त्री देउवाको भ्रमणसम्बन्धी समाचार संगालो हस्तान्तरण



काठमाडौँ, २० कात्तिक : प्रधानमन्त्री शेरबहादुर देउवाको संयुक्त राष्ट्रसंघको ७२औँ महासभा भ्रमणसम्बन्धी समाचार, तस्वीर र प्रेश क्लिपिङको संगालो राष्ट्रिय समाचार समिति (रासस)ले हस्तान्तरण गरेको छ ।

प्रधानमन्त्री देउवालाई आज उहाँकै कार्यकक्षमा राससका अध्यक्ष कुलचन्द्र वाग्लेले जानकारी गराउँदै सो समाचार संगालो हस्तान्तरण गर्नुभएको हो ।

प्रधानमन्त्री देउवाले राससले मुलुकको तर्फबाट संयुक्त राष्ट्रसंघको ७२औँ महासभा र ओमनको औपचारिक भ्रमणसम्बन्धी समाचार, तस्वीर संकलन तथा सम्पे्रषण गरेकामा धन्यवाद व्यक्त गर्नुभयो ।

सो अवसरमा राससका महाप्रबन्धक ओपेन्द्र शर्मा, नायब महाप्रबन्धक सुरेन्द्रबहादुर नेपाली, कार्यकारी व्यवस्थापक उत्तम सिलवाल, प्रमुख समाचारदाता सूर्यचन्द्र बस्नेत र वरिष्ठ समाचारदाता नारायण न्यौपाने उपस्थित हुनुहुन्थ्यो ।

प्रधानमन्त्री देउवाले संयुक्त राष्ट्रसंघको ७२औँ महासभालाई सम्बोधन गर्न गत असोज ३ देखि १२ गतेसम्म संयुक्त राज्य अमेरिकाको न्यूयोर्क र फर्किने क्रममा ओमनको तीनदिने औपचारिक भ्रमण गर्नुभएको थियो ।

प्रधानमन्त्री नेतृत्वको २० सदस्यीय उच्चस्तरीय नेपाली प्रतिनिधिमण्डलमा राससका तर्फबाट समाचार र तस्वीर संकलनका लागि उपसमाचारदाता भीष्मराज ओझा सम्मिलित हुनुहुन्थ्यो ।

समाचार संगालोमा प्रधानमन्त्री देउवाको उक्त भ्रमणसम्बन्धी ३० नेपाली, ३० अंग्रेजी समाचार र ६० भन्दा बढी तस्वीर सम्प्रेषण भएका प्रेस क्लिपिङ समावेश छन् ।(रासस)



प्रतिक्रिया दिनुहोस्