Logo

देशलाई नयाँ युगमा लान चाहन्छु, अवसर मैले पाउनुपर्छ : रामचन्द्र पौडेल



-कमलमणि पोख्रेल

कात्तिक २०, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रदेश नम्बर ४ को प्रवेशद्धारको रुपमा रहेका तनहुँ जिल्लामा कृषि, पर्यटन र उर्जा क्षेत्रको विकासमा क्रान्ति ल्याउने उद्घोष गरेका छन् । चुनावी प्रचारप्रचारका क्रममा तनहुँको क्षेत्र नम्बर १ का जनतालाई सम्बोधन गर्दै नेता पौडेलले तनहुँ जिल्ला कृषि, पर्यटन र उर्जा तिनवटै क्षेत्रमा सम्भावना भएको बताए । जिल्लावासीको जीवनस्तर उकास्दै देशलाई सुशासन, समृद्धि र जनतालाई सुखी जीवन दिनु नै आफ्नो प्राथमिक एजेण्डा भएको पौडेलले बताएका छन् ।

तनहुँ क्षेत्र नम्बर १ का प्रतिनिधिसभाका उम्मेदवारसमेत रहेका पौडेलले अनेक षडयन्त्रकाबिचबाट आफूलाई जनताले बचाएको उल्लेख गर्दै जनताको हितमा प्रतिबद्ध भएर काम गर्ने बताए । “मैले साथीहरुलाई दुरविन लगाएर हेरेको छु । सबै साथीहरुले मबाट छहारी, मूल्याङ्कन र साहारा पाउनुहुनेछ ।” नेता पौडेलले भने ।
अबको चुनावपछि आफु प्रधानमन्त्रीको प्रमुख दाबेदार भएको भन्दै पौडेलले अब आफुले अवसर पाउनुपर्ने बताए ।
“म देशलाई नयाँ युगमा लान चाहन्छु । यो अवसर मैले पाउनुपर्छ ।” पौडेलले दाबी गरे ।
प्रधानमन्त्रीबाट नै सुशासनको सुरुवात गर्नका लागि आफु प्रधानमन्त्री बन्नुपर्ने पौडेलेको संकेत थियो ।
नेता पौडेलले तनुहँ क्षेत्र नम्बर १ बाट जित्नु मात्रै प्रमुख कुरा नभएको भन्द देशकै नेतृत्व गर्नका लागि आफु अघि बढेको बताएका छन् ।

“नेपालको राजनीतिमा भएको विकृतिले गर्दा जनता निराश छ, त्यसैले अब राजनीतिलाई सम्मानित बनाउने मेरो अभियान हो ।” पौडेलको भनाई थियो ।

पौडेलले कांग्रेसका कार्यकर्तालाई जनताको सेवा नगरीकन नेताको ढोका ढकढक्याएर केही पाउनु सकिदैन भन्दै नेताको चाकरी गरेर स्वार्थ पूरा गर्ने प्रवृत्तिको अन्त्य गर्न आग्रह गरे ।
“राजनीतिक क्षेत्रबाट भएका त्रुटीहरुप्रति जनतासमक्ष क्षमा माग्न चाहन्छु । अब नयाँ सुधारको युगमा प्रवेश गर्नका लागि म चुनावमा होमिएको छु ।” पौडेलले भने ।
आफु देशभर मत माग्न जानुपर्ने भएकाले आफ्नो क्षेत्रमा घरघरमा जान सक्ने अवस्था नभएको भन्दै क्षेत्र नम्बर एकका नेता कार्यकर्तालाई आफ्नो प्रचारप्रसारमा सहयोग गरिदिन पौडेले आग्रह गरेका छन् । “तर पनि गाउँगाउँमा पुग्ने प्रयास गर्नेछु ।” पौडेलले भने ।



प्रतिक्रिया दिनुहोस्