Logo

मोरङका केही मतदान केन्द्रका स्थान हेरफेर



विराटनगर, २१ कार्तिक । मोरङका केही मतदान केन्द्रको स्थान हेरफेर गरिएकोे छ । मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाको अध्यक्षतामा सोमबार बसेको सर्वदलीय बैठकले मतदाताको पहुँच, सुविधा र संख्यालाई ध्यानमा राखी विराटनगर–१०स्थित संसारीमाई स्थानमा रहेका सातवटा मतदान केन्द्रमध्ये तीनवटा मतदान केन्द्रलाई कोशी विद्या मन्दिरमा सार्ने निर्णय गरेकोे हो ।

त्यस्तै विराटनगर–६ स्थित शिक्षा सदन सरोचियामा रहेका १० वटा मतदान केन्द्रमध्ये चारवटालाई नजिकमा रहेको मणितारा बोडिङ स्कूलमा सार्ने सहमति भएको छ ।

बूढीगंगा गाउँपालिका–२ स्थित हेल्थ पोष्टको नयाँ भवनमा कायम रहेका तीनवटै मतदान केन्द्रलाई नजिककै लीलाभक्त श्रेष्ठ प्राथमिक विद्यालयमा सार्ने निर्णय गरिएको छ ।

मुख्य निर्वाचन अधिकृत खतिवडाले राजनीतिक दल र उम्मेदवारका साथै आचारसंहिता पालना गर्न दायित्व निर्वाह गर्ने व्यक्तिले पूर्णरूपमा आचारसंहिता पालना नगरेमा कडा कारबाही हुने बैठकमा चेतावनी दिनुभयो ।

सर्वदलीय बैठकमा निर्वाचन अधिकृत, निर्वाचन आयोगका साथै विभिन्न राजनीतिक पार्टीका प्रतिनिधि र उम्मेदवार गरी ५५ जनाको सहभागिता थियो । रासस



प्रतिक्रिया दिनुहोस्