Logo

राप्रपाले चुनाव जित्नकै लागि राजा र हिन्दूराष्ट्रलाई भ¥याङ् बनायो : सह–महामन्त्री राणा



काठमाडौं, २१ कार्तिक । एकीकृत राप्रपा (राष्ट्रवादी) का सह–महामन्त्री प्रदिप विक्रम राणाले कमल थापा नेतृत्वको राप्रपाले आज जारी गरेको घोषणापत्रमा राजा र हिन्दूराष्ट्र समावेश गर्नुलाई थापाको चुनावी स्टण्डको संज्ञा दिएका छन् ।

राप्रपाको चुनावी घोषणापत्र जारी भएलगत्तै पत्रकारहरुसँग संक्षिप्त प्रतिक्रिया दिँदै उनले यस्तो टिप्पणी गरेका हुन् । उनले भने,‘राप्रपाले आफ्नो घोषणापत्रमा राजा र हिन्दूराष्ट्रको विषय समावेश गर्नु भनेको कमल थापाले फेरि नेपाली जनताहरुलाई झुक्याउनुमात्रै हो, यो उनको राजनीतिक ईमानदारीताको एजेण्डा होईन, किनभने उनी यतिवेला गणतन्त्रात्मक व्यवस्थाको एक जिम्मेवारी उपप्रधानमन्त्री समेत हुन्, तर उनी राजा चाहिन्छ भन्दै घोषणापत्रमा लेखेर भ्रम छर्ने काम गरिरहेका छन्, यो भ्रम धेरै दिन टिक्दैन्।’

सह–महामन्त्री राणाले राप्रपाले यदि साँच्चिकै राजा र हिन्दूराष्ट्र चाहेको हो भने सरकार तुरुन्त छोडेर सडक संघर्षमा होमिनुपर्नेमा जोड दिए । उनले थपे,‘सरकारमा बसेर गणतन्त्रात्मक व्यवस्थाको फाईदा लिने अनि चुनाव जित्नकोलागि राजा चाहियो भनेर चिच्याउने प्रवृत्ति जनताले थाहा पाईसकेका छन्, अब उनको यो एजेण्डा केबल चुनाव जित्ने अस्त्रमात्रै हो भन्ने कुरा हामी सबैले बुझेका छौं।’

त्यस्तै उनले थापा नेतृत्वको राप्रपाले मात्रै नभएर पशुपति शमशेर राणा नेतृत्वको राप्रपा(प्रजातान्त्रिक) र आफ्नै पार्टीका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले समेत राजासहितको प्रजातन्त्र भनेर एजेण्डा बनाएको भन्दै अब सबै शक्तिहरु एक भएर यो एजेण्डालाई सडक संघर्षमार्फत स्थापित गर्न ढिलाई गर्न नहुने समेत धारणा राखे ।



प्रतिक्रिया दिनुहोस्