Logo

कांग्रेसका वरिष्ठ नेता पौडेल गाउँगाउँमा, तनहुँको सबै क्षेत्र कब्जा गर्ने पूर्व सासंद कैनीको दाबी (फोटो फिचर)



-कमलमणि पोख्रेल
कात्तिक २१, तनहुँ । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल आफ्नो चुनावी क्षेत्रको घरदैलोमा सक्रिय भएका छन् । तनहुँ क्षेत्र नम्बर १ बाट उम्मेदवार बनेका पौडेल जनताको घर दैलोमा पुग्न थालिसकेका हुन् ।

सोमबार प्रचार प्रसार कार्यालय उद्घाटन गरेर प्रचारमा होमिएका पौडेल मंगलबार पनि तनहुँ क्षेत्र नम्बर १ का विभिन्न गाउँमा पुगेका छन् । तनहुँ कांग्रेसका कोषाध्यक्ष रेशम गुरुङका अनुसार मंगलबार पौडेलले चारवटा गाउँमा चुनावी सभा सम्पन्न गरेका छन् । बन्दिपुर गाउँपालिकाको रामकोट, सेराटार, बटटार र सिमलटारमा पौडेलले चुनावी सभा गरेको गुरुङले जानकारी दिए ।

रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै गुरुङले तनहुँकै अर्का नेता गोविन्दराज जोशीले बागी उम्मेदवारी दिएपछि जोशीको पक्षमा लागेका नेता कार्यकर्ता पनि अहिले पौडेलेका चुनावी सभामा सहभागि हुन थालेको बताए ।

पूर्व सासंद तथा तनहुँ क्षेत्र नम्बर १ नेपाली कांग्रेसको प्रचार प्रसार समितिका संयोजक अमरराज कैनीले दिएको जानकारी अनुसार मतभेदका बिचमा पनि जोशीलेसमेत पौडेललाई नै मतदान गर्नेछन् । “गोविन्दराज जोशी आफैँ पनि रामचन्द्र पौडेललाई भोट हाल्न तयार हुनुहुन्छ । उहाँ सच्चा कांग्रेसी हो । अन्त भोट हाल्ने त कुरै भएन ।” कैनीले भने ।

रिपोर्टर्स नेपाल डटकमसँग कुरा गर्दै कैनीले वाम गठबन्धनले कांग्रेसलाई पराजित गर्ने हो कि भन्ने आशंका उब्जिए पनि कांग्रेसको जनमत गठबन्धनले तान्न नसक्ने जिकिर गरेका छन् । पूर्व राज्यमन्त्रीसमेत रहेका कैनीले पौडेल गाउँगाउँमा जाँदा जनताले भावी प्रधानमन्त्रीको रुपमा स्विकार गरेको बताए ।

“६४ सालमा मात्रै कांग्रेस कमजोर भएको थियो । यसपटक पनि हामीले सानदार विजयी हासिल गछौँ ।” कैनीले भने । क्षेत्र नम्बर १ का जनताले गाउँ समाजको व्यवहारिक समस्या सम्बोधनका लागि पौडेलसँग आग्रह गरेका छन् । विगतमा पनि त्यस क्षेत्रमा कांग्रेसले नै विकास निर्माणका काम अघि बढाएकाले जनता कांग्रेसप्रति सन्तुष्ट रहेको कैनीको दाबी छ ।

क्षेत्र नम्बर १ मा मात्र नभै तनहुँको २ वटा प्रतिनिधिसभाका क्षेत्र र ४ वटा प्रदेशसभाका क्षेत्रमा नै कांग्रेसले जित हासिल गर्ने कैनीको भनाई छ ।

(तस्विर : रेशम गुरुङ, कोषाध्यक्ष, नेपाली कांग्रेस, तनहुँ)



प्रतिक्रिया दिनुहोस्