Logo

सामाजिकीकरणमा गैससको महत्वपूर्ण भूमिका : पूर्वप्रधानन्यायाधीश श्रेष्ठ



काठमाडौँ, २१ कात्तिक (रासस) : पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले नेपालको आधुनिकीकरण, सामाजिकीकरण र रुपान्तरणमा गैरसरकारी संस्थाले नेतृत्वदायी भूमिका खेलेको बताउनुभयो ।

गैससको २३ औँ साधारणसभा र नागरिक सम्मलेनमा आज राजधानीमा आयोजित कार्याक्रममा पूर्वन्यायाधीश श्रेष्ठले स्थानीय जनतामा विकासको लहर ल्याउने गैसस भएको धारणा राख्नुभयो ।

उहाँले भन्नुभयो, “जबसम्म देशको निर्णय लिनसक्ने हुनका लागि गाउँदेखि केन्द्रीयस्तरसम्म नागरिक भेला हुनुपर्छ, राजनीतिक दल हुँदैमा प्रजातन्त्र बलियो हुँदैन, त्यसलाई सहयोग, निर्देशन र आलोचना गर्ने नागरिक हुनैपर्छ ।”

उहाँले प्रजातन्त्रलाई संस्कृति बनाउनका लागि सरकारसँग सँगसँगै हिँडेर देशको निर्णायक तहमा नागरिकलाई पनि समाहित गराउनुपर्नेमा जोड दिनुभयो ।

सूचना आयोगका प्रमुख आयुक्त कृष्णहरि बास्कोटाले प्रत्येक नेपाली नागरिकलाई राज्य र सरकारका कामकारबाहीबारे प्रश्न गर्ने अधिकार भएको बताउनुभयो ।

उहाँले सूचनाको हकले जनतालाई सशक्त बनाउने भन्दै हरेक नागरिकले आफ्नो सूचना पाउने अधिकार प्रयोग गर्नुभयो । “राज्य प्रणाली सञ्चालन गर्न सरकार र नागरिक समाजले मिलेर गर्नुपर्छ, संविधानले नै सूचनाको हकको सुनिश्चिता गरेको छ ।”

गैससका अध्यक्ष गोपाल लम्सालले देशको समृद्धि र दिगो विकासका लागि नियम कानूनभित्र रहेर सरकारको विकास साझेदारका रुपमा भूमिका निर्वाह गरिरहेको उल्लेख गर्नुभयो ।

“विकास प्रक्रियामा नागरिक सशक्तीकरण, नागरिक अनुगमन र न्यायपूर्ण पैरवी गर्ने कार्यमा सधैँ गैसस सक्रिय छ, यसलाई निरन्तरता दिँदै विकास निर्माणमा साथै रहिरहने प्रतिबद्धता छ”– उहाँले भन्नुभयो ।

गैससका पूर्वअध्यक्ष शर्मिला कार्कीले गैससको व्यवस्थापन, परिचालन र विकासका लागि स्थानीय तहमा बन्ने नीति, ऐन, कानून, नियमावली गैससमैत्री हुुनुपर्ने बताउनुभयो । भोलिसम्म चल्ने साधारणसभाले काठमाडौँ घोषाणापत्र पनि जारी गर्नेछ ।



प्रतिक्रिया दिनुहोस्