Logo

भीम रावलको दाबी : वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर ५ वर्ष सरकार सञ्चालन गर्छ



अछाम, २१ कात्तिक : नेकपा (एमाले)का उपाध्यक्ष भीम रावलले मुलुकमा राजनीतिक स्थायित्वका लागि वाम एकता भएको बताउनुभएको छ ।

अछामको मेल्लेख गाउँपालिका–८ मा आज वाम गठबन्धनको चुनावी सभामा उहाँले भन्नुभयो – “चुनाव जित्नका लागि मात्र नभई देशमा राजनितिक स्थायित्वका लागि वाम एकता भएको हो ।”

अछाम क्षेत्र नंं १ मा प्रतिनिधि सभा सदस्यका उम्मेदवारसमेत रहनुभएका रावलले प्रदेश सभा र प्रतिनिधि सभा सदस्य निर्वाचनपछि एमाले र माओवादी केन्द्र दुवै पार्टी एकीकरण हुने दाबी गर्नुभयो ।

आसन्न प्रदेश सभा तथा प्रतिनिधि सभा निर्वाचनमा वाम गठबन्धनले दुई तिहाइ बहुमत ल्याएर ५ वर्ष सरकार सञ्चालन गर्ने बताउँदै उहाँले भन्नुभयो –“ वाम गठबन्धनको सरकारले राष्ट्रिय एकतालाई बलियो पार्दै मुलुकमा आर्थिक समृद्धि गर्ने काम गर्छ ।”

एमालेबाट प्रदेश सभा सदस्य समानुपातिकतर्फका उम्मेदवार कृष्णप्रसाद जैसीले जिल्लाका ग्रामीणस्तरको विकासका लागि वाम गठबन्धन सधैँ अघि रहेको बताउनुभयो ।

माओवादी केन्द्रका पोलिटब्यूरो सदस्य तारामान स्वाँरले वाम गठबन्धन भएपछि जनतामा आशाको किरण पलाएको हुँदा वाम गठबन्धनको जित सुनिश्चित रहेको धारणा व्यक्त गर्नुभयो ।

माओवादी केन्द्रका अर्का पोलिटब्यूरो सदस्य दीपक साउदले वाम गठबन्धनका उम्मेदवार विजय गराउन सबैमा आग्रह गर्नुभयो ।

नेकपा (एमाले) वडा कमिटी अध्यक्ष कालु सिंह साउदको अध्यक्षतामा कार्यक्रम सम्पन्न भयो ।(रासस)



प्रतिक्रिया दिनुहोस्