Logo

धनुषा क्षेत्र नम्बर ३ को भिडन्तमा वाम गठबन्धनले जित्ने उम्मेदवार यादवको दाबी



कात्तिक २२, जनकपुर । धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धनका उम्मेदवार रामसिंह यादवले चुनावपछि वाम गठबन्धनको सरकार बन्ने दाबी गरेका छन् । रिपोर्टर्स क्लब नेपाल धनुषा शाखाले गरेको साक्षात्कार कार्यक्रममा नेता यादवले देशभरबाट वाम गठबन्धनले कम्तिमा १ सय ४० स्थानमा जित हासिल गर्ने दाबी गरे ।

सोही क्षेत्रबाट उम्मेदवार बनेका कांग्रेसका विमलेन्द्र निधी र राजपाका उम्मेदवार राजेन्द्र महतो विकास विरोधी भएकाले आफ्नो जित सुनिश्चित भएको यादवको दाबी छ । त्यस क्षेत्रमा निधी विकास विरोधी नेताका रुपमा चिनिएको आरोप लगाउँदै यसपटक जनताले निधीलाई पराजित गर्ने यादवको दाबी छ ।

“विमलेन्द्र निधी भ्रष्टाचार मात्र गर्छन् भन्ने कुरा जनताले बुझेका छन् । निधीको अतिवाद र परिवारवादबाट जनता दिक्क भएका छन् ।” यादवले भने । निधीबाट कांग्रेसका कार्यकर्ता नै असन्तुष्ट भएको जिकिर गर्दै यादवले आफुलाई प्रजातन्त्रवादी भने पनि निधीको चरित्र निरङ्कुशवादी भएको आरोप लगाए ।

धनुषा क्षेत्र नम्बर ३ मा वाम गठबन्धन, कांग्रेस र राजपाबिचको त्रिपक्षीय भिडन्त हुने यादवको भनाई छ । राजेन्द्र महतो सर्लाहीका बासिन्दा भएर धनुषामा आएर चुनाव लड्न लागेको भन्दै यादवले महतोले जित्ने कुनै सम्भावना नभएको बताए । मधेशी जनताको नाममा राजनीति गरेर आफ्नो स्वार्थ पूरा गर्न खोज्ने महतोलाई जनताले मत दिन नसक्ने यादवको तर्क छ ।

देउवा नेतृत्वको सरकारका स्वास्थ्य राज्यमन्त्रीबाट विनाविभागिय मन्त्री बनेका यादवले आफुले चुनाव जितेपछि जनकपुरमा चक्रपथ निर्माण लगायतका भौतिक पूर्वाधारको विकासमा केन्द्रित हुने बताए ।
फरक प्रसङ्गमा यादवले सरकारमा बसेर संविधानमा उल्लेख नै नभएको राजसंस्थाको वकालत गर्नु कमल थापाको गैरजिम्मेवारी भएको आरोप लगाए । हिन्दुराष्ट्र बारे कुरा उठाउनु स्वतन्त्रताका हक भए पनि राजसंस्थाको कुरा उठाउने संविधान विपरित भएकाले थापालाई कारबाही गर्नुपर्ने यादवको भनाई छ ।

साक्षात्कार कार्यक्रमको अध्यक्षता गरेका रिपोर्टर्स क्लब नेपालका केन्द्रिय अध्यक्ष ऋषि धमलाले मधेशी जनताको अधिकार सुनिश्चित गर्नका लागि नेताहरु प्रतिवद्ध हुनुपर्नेमा जोड दिए ।
मधेशमा सही उम्मेदवार छनौट र निश्पक्ष चुनाव होस भन्ने उद्देश्यले क्लबे चुनावी अभियान सुरु गरेको जानकारी दिदै धमलाले योग्य व्यक्ति चयन गर्न जनतालाई सुझाब दिए ।



प्रतिक्रिया दिनुहोस्