Logo

शिक्षा ऐन–२०२८ को नवौं संशोधन खारेजी नगरे आमरण अनशन बस्ने त्रिवि विद्यार्थी संघर्ष समितिको चेतावनी



काठमाडौं, २२ कार्तिक । त्रिभुवन विश्वविद्यालय विद्यार्थी संघर्ष समितिले शिक्षा ऐन–२०२८ को नवौं संशोधन चाँडो भन्दा चाँडो खारेजी नगरे कडा संघर्षमा उत्रिने चेतावनी दिएको छ ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा संघर्ष समितिले पत्रकार सम्मेलन गरेर यस्तो चेतावनी दिएको हो । गत असोज ३ गते संसदबाट राष्ट्रको हित विपरित ७ लाख भन्दा बढी अध्यापन अनुमति पत्र लिएका शिक्षित युवाहरुको विरुद्ध र ६० लाख भन्दा बढी बालबालिकाहरुको भविष्यमाथि खेलवाड गर्दै शिक्षाको नवौं संशोधन पारित भएको आरोप लगाउँदै समितिले उक्त ऐन तत्काल खारेजी गर्नुपर्ने माँग गरेको हो ।

समितिद्धारा जारी गरिएको प्रेस विज्ञप्तीमा भनिएको छ, ‘उक्त कदमले हामी विद्यार्थीहरुलाई गम्भीर रुपमा सोच्न र आन्दोलनमा उत्रिन बाध्य बनाएको छ ।’
उक्त ऐनको विरोधमा उनीहरुले यही कार्तिक १७ गते त्रिभुवन विश्वविद्यालयमा तदर्थ विद्यार्थी संघर्ष समिति गठन गरेको समेत समितिका संयोजक पुष्कर शर्माले जानकारी दिए ।

उनका अनुसार उक्त तदर्थ समितिको अगुवाईमा कार्तिक १९ गते व्यानर र प्लेकार्डसहित उपस्थित भएका हजारौं विद्यार्थीहरुले शिक्षा ऐन नवौं संशोधन विरुद्ध नारावाजी गर्दै त्रि.वि. परिसरमा शिक्षाविद्, प्राध्यापक, विद्यार्थी संगठनका पदाधिकारी र विद्यार्थीहरुका बीचमा बृहत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको थियो ।

जारी विज्ञप्तीमा थप भनिएको छ,‘उक्त अन्तरक्र्रिया कार्यक्रममा विद्यार्थीहरुले शिक्षा ऐन २०२८ को नवौं संशोधनको तत्काल खारेजको माग गरेका छन् । हामी हाम्रो मागप्रति प्रतिवद्ध छौं । २०७४ कार्तिक २१ गते विद्यार्थी संघर्ष समिति गठन भयो । यसै सन्दर्भमा हामी पत्रकार सम्मेलनको तयारी गरिरहँदा, सर्वोच्च अदालतमा शिक्षा ऐन २०२८को नवौं संशोधनको बिरुद्ध परेको रिट विचाराधिन रहेको अवस्था र निर्वाचन आचारसंहिता समेत लागु भइसकेको अवस्थामा कार्तिक २१ गते नै शिक्षक सेवा आयोगले जबरजस्त र गैरजिम्मेवार शैलीमा अस्थायी शिक्षकको लागि आन्तरिक प्रतिस्पर्धाबाट पदपूर्तिको लागि आवेदन खुला गरेकोले उक्त कदमप्रति हामी खेद प्रकट गर्दछौं ।’

त्यस्तै कार्यक्रममा महासचिव सञ्जय कार्की र सह–संयोजक नारायण गिरीले पनि आफ्ना धारणा राखेका थिए । उनीहरुले पनि ऐन खारेजी नगरे आफूहरु जस्तोसुकै आन्दोलनमा समेत उत्रिन तयार हुने चेतावनी दिएका थिए ।

समितिले विविध विरोध तथा आन्दोलनका कार्यक्रमहरु समेत सार्वजनिक गरेको छ । जसमध्ये कार्तिक २३ गते बिहान ११ बजे शिक्षक सेवा आयोग घेराउ गर्ने, कार्तिक २३ गते बिहीबार दिउँसो ३ बजे माइतीघर मण्डलामा विरोध प्रदर्शन गर्ने, कार्तिक २४ गते अध्यापन अनुमतिपत्र र नागरिकता सर्वोच्च अदालतमा पेश गर्ने, सर्वोच्च अदालतमा कार्तिक २४ गते बस्ने पेशीले हाम्रो पक्षमा फैसला नगरेमा आमरण अनसन बस्ने रहेका छन् । त्यस्तै उनीहरुले आफूहरु आत्मदाहसम्म गर्न तयार रहेको चेतावनी दिएका छन् ।

 



प्रतिक्रिया दिनुहोस्