Logo

एमाले–माओवादी गठबन्धन खिचडी हो, यो बाहृय तागतले बनेको हो :महासचिव मैनाली



काठमाडौं, २२ कार्तिक । नेकपा मालेका महासचिव सिपी मैनालीले एमाले–माओवादी गठबन्धनलाई खिचडी र सत्ता प्राप्तिको लागि रचिएको प्रपञ्चको संज्ञा दिएका छन् ।

बुधबार रिपोर्टर्स क्लब नेपालमा प्रगतिशिल लोकतान्त्रिक गठबन्धनले आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै महासचिव मैनालीले एमाले–माओवादीबीचको गठबन्धनलाई खिचडी र सत्ता प्राप्तिको खेल भएको आरोप लगाएका हुन् ।

उनले भने,‘हिजो आज राजनीतिक स्थिरताको नाममा विभिन्न गठबन्धनको नारा सुनिदैछन्, यसले राज्यलाई निकास दिने म चाँही देख्दिन, एमाले–माओवादीबीच हिजोका दिनमा राष्ट्रघातीको नाताले सम्बोधन गर्ने चलन थियो, आज त्यो गल्तीलाई नसच्याईकन कसरी यो गठबन्धन भयो ?’

महासचिव मैनालीले भने,‘वर्तमान गठबन्धन बाहृय तागतले बनेको छ, यसले मुलुकको हित गर्दैन, परायहरुको हित गर्छ, यस्तो गठबन्धनको बिरुद्धमा हामीले प्रगतिशिल गठबन्धन बनाएका छौँ, हँसिया तारा रहेको निर्वाचन चिन्हमा भोट दिनको लागि सबैमा आग्रह गर्दछु।’

नेकपा मालेसँग पार्टी एकिकरण गर्दै नयाँ शक्ति नेपालबाट किसुन राउत, नेपाल तरुण दल पर्सा जिल्ला सदस्य जितेन्द्रकुमार सिंह, राजपा पर्सा जिल्ला सल्लाहकार सत्यनारायण रौनियार, लोकतान्त्रिक फोरम केन्द्रीय सदस्य दीपककुमार लगायतका नेता कार्यकर्ताहरु प्रगतीशिल लोकतान्त्रिक गठबन्धनमा आवद्ध भएर निर्वाचनमा भाग लिने बताएका छन् ।

राजपा नेपालका पर्सा क्षेत्र नम्बर ४ तथा जिल्ला उपाध्यक्ष सन्तोस साहले राजपा आफन्त र पैसामा बिकेको आरोप लगाउँदै प्रगतिशिल गठबन्धनमा प्रवेश गरेको बताए ।

 



प्रतिक्रिया दिनुहोस्