Logo

मोरङको चुनावी मैदानमा युवादेखि वृद्धसम्म



विराटनगर, २३ कात्तिक : मोरङमा प्रतिनिधि सभा र प्रदेश सभाको निर्वाचनमा ७० वर्ष नाघेका ६ जना उम्मेदवार चुनावी मैदानमा उत्रेका छन् ।

जिल्लाको ६ संसदीय क्षेत्र र १२ वटा प्रदेश क्षेत्रमा गरी १६९ उम्मेदवार चुनावी मैदानमा छन् । सत्तरी वर्ष नाघेका ६ जनामध्ये तीनजना प्रतिनिधि सभामा र तीनजना प्रदेश सभामा उम्मेदवार रहनुभएको छ ।

प्रतिनिधिसभा सदस्यका लागि ६ वटै संसदीय क्षेत्रबाट तीन महिला गरी ६१ जना प्रतिस्पर्धामा छन् । सोमध्ये सबैभन्दा जेठा उम्मेदवार ७९ वर्षीय भीमबहादुर तामाङ हुनुहुन्छ । तामाङ मोरङ क्षेत्र नं १ बाट स्वतन्त्र उम्मेदवार बन्नुभएको छ ।

सबैभन्दा कान्छा उम्मेदवार २७ वर्षीय दिवाकर माझी प्रतिनिधिसभा सदस्यका लागि क्षेत्र नं ३ बाट मैदानमा हुनुहुन्छ । यस्तै ७४ वर्षीय बद्रीप्रसाद मण्डल मोरङ क्षेत्र नं ५ बाट प्रतिनिधिसभाका लागि राष्ट्रिय जनता पार्टीबाट चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ ।

यसैगरी, मोरङ क्षेत्र नं २ बाट संघीय लोकतान्त्रिक मोर्चाका तर्फबाट ७१ वर्षीय थीरबहादुर लिम्बू उठ्नुभएको छ । प्रतिनिधिसभा सदस्यका लागि मोरङको ६ वटै क्षेत्रमा ६० वर्षदेखि ६९ वर्षको उमेरका आठजना उम्मेदवार हुनुहुन्छ । क्षेत्र नं ६ बाट काँग्रेसको ६७ वर्षीय डा शेखर कोइराला, ६७ वर्षीय नेमकिपाका सुरेन्द्रप्रसाद सापकोटा र संघीय समाजवादी फोरमका ६६ वर्षीय राजेश्वर विश्वास चुनावी मैदानमा हुनुहुन्छ ।

त्यस्तै, ५० वर्षदेखि ५९ वर्षका १०, ४० वर्षदेखि ४९ वर्षका ११, ३० वर्षदेखि ३९ वर्षसम्मका १४ तथा सोभन्दा कम उमेरका २७ वर्षीय दिवाकर माझी उम्मेदवार हुनुहुन्छ । महिला उम्मेदवारमा सबैभन्दा बढी उमेरकी क्षेत्र नं ६ मा नयाँ शक्ति पार्टीबाट ५३ वर्षीया बिमला अर्याल र कम उमेरकी क्षेत्र नं २ बाट स्वतन्त्र उम्मेदवार ३६ वर्षीया कल्पना बिमली पनि प्रतिनिधिसभा सदस्यका लागि उठ्नुभएको छ ।

मोरङको प्रदेशसभाको १२ वटै निर्वाचन क्षेत्रमा १०८ जना उम्मेदवार चुनावी मैदानमा छन् । सोमध्ये ७० वर्षका तीनजना हुनुहुन्छ । क्षेत्र नं ६ (ख)बाट एकीकृत राप्रपा (राष्ट्रवादी)बाट ७४ वर्षीय मोहम्मद जावेद अन्सारी, क्षेत्र नं १ (क)बाट नयाँ शक्ति पार्टीका ७० वर्षीय कृष्ण राई र क्षेत्र नं ५ (ख)बाट नेकपा (माले)बाट ७० वर्षीय कृष्णराज थापा चुनावी प्रतिस्पर्धामा उत्रनु भएको छ ।

प्रदेश सभामा सवैभन्दा कान्छा उम्मेदवारका रुपमा विवेकशील साझा पार्टीका २६ वर्षीय सरोज नेपाल हुनुहुन्छ । साठी वर्षदेखि ६९ वर्षसम्मका १३, ५० वर्षदेखि ५९ वर्षसम्मका २४, ४० वर्षदेखि ४९ वर्षसम्मका ३७, ३० वर्षदेखि ३९ वर्षसम्म्का २४ तथा सोभन्दा कम उमेरका सातजना उम्मेदवार रहेका छन् ।

प्रदेशसभामा आठजना महिला चुनावी प्रतिस्पर्धामा हुनुहुन्छ । सोमध्ये सबैभन्दा बढी उमेरका क्षेत्र नं २ (ख)बाट एकीकृत राप्रपा (राष्ट्रवादी)की ५२ वर्षीया गोमा कार्की र कम उमेरकी क्षेत्र नं ३ (क)बाट ३५ वर्षीया गीता तिम्सिना हुनुहुन्छ । (रासस)



प्रतिक्रिया दिनुहोस्